पटना । इन्डो–नेपाल रेल सेवा अंग्रेजी नयाँ वर्ष अर्थात् सन् २०२२ को जनवरीदेखि सुरु गर्ने तयारी गरिएको छ । भारतको जयनगरदेखि नेपालको कुर्थासम्म ३४.५ किमि रेलसेवा जनवरीदेखि अर्थात् मध्यपुसबाट सुरु हुनसक्ने भएको हो । उक्त रेल नेटवर्कलाई जयनगर–कुर्था, कुर्था–बिजिलपुरा र बिजिलपुरा–बर्दिबास गरी तीन चरणमा सम्पन्न गर्ने जिम्मा इर्कोन इन्टरनेशनल लिमिटेडले पाएको छ । यसभित्र ६८ किमि दूरी पर्छ । ईसीआरका प्रमुख जनसम्पर्क अधिकृत (सीपीआरओ) राजेश कुमारले जयनगर–कुर्था रेलसेवा पूर्ण तयार भइसकेको बताए। नेपालले भारतीय कम्पनी कोंकण रेलवेबाट दुईवटा रेल नेपाललाई गत वर्ष नै हस्तान्तरण गरिसकेको छ । रेल ल्याए पनि नेपालले सञ्चालन अझै सुरु गर्नसकेको छैन । जयनगर–कुर्था ट्राकको परीक्षण समेत सम्पन्न भइसकेको छ । जयनगर–कुर्था रेल सञ्चालनमा आएपछि दुवै देशको टोलीले कुर्था–बिजिलपुरा ट्राकको अनुगमन र उच्च गतिको रेल सञ्चालन गरेर परीक्षण गर्नेछन् । तेस्रो फेजमा बिजिलपुरादेखि बर्दिबाससम्म १७ किमि रेल ट्राक बन्नेछ । तर यसका लागि नेपाल सरकारले जग्गा अधिग्रहण गर्नै बाँकी छ। सोही कारण नयाँ रेल लाइन र स्टेसन भवन निर्माणको काम हुनसकेको छैन । जयनगरदेखि बर्दिबाससम्म रेल चल्दा भने आठ स्टेसन हुनेछन् भने छ ठाउँमा रेल रोकिनेछन् । सन् २०१८ अगस्टमा नेपाल र भारतबीच भएको सम्झौताअनुसार यो परियोजनाको अनुमानित लागत ७ अर्ब ८७ करोड भारु हुने भारतीय विदेश मामिला मन्त्रालयले जनाएको टाइम्स अफ इन्डियाले जनाएको छ ।