काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ किओस्क सेवाको सुरुवात गरेको छ । बिहीबार एक समारोहमार्फत उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हाललाई यो सेवा काठमाडौँ उपत्यकाको दरबारमार्ग शाखाबाट उपलब्ध गराइएको र निकट भविष्यमा नै यस सेवालाई आवश्यकताअनुसार बैंकका अन्य शाखाहरूमा समेत विस्तार गरिने योजना रहेको बताएका हुन् । बैंकका अनुसार किओस्कमार्फत प्रारम्भिक रूपमा ग्राहकहरूले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्ने, एटीएम तथा बैंकका शाखाको विवरणहरू प्राप्त गर्नेजस्ता सेवा बैंकका कर्मचारीको सहयोगविना नै प्राप्त गर्न सक्नेछन् । नयाँ प्रविधिलाई आत्मसात् गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरू प्रदान गर्ने उद्देश्यका साथ किओस्क सेवा प्रयोगमा ल्याइएको बैंकले जानकारी दिएको छ । बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ७४ वटा शाखा, एक सय २३ वटा एटीएम र ८८ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब १२ लाख ८० हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटल्ली प्रदान गरिरहेको छ । यसलाई मूर्तरूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एन्ड वीथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरेको छ । साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरूलाई सकेसम्म बैंकमा नआईकनै बंैकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी बैंकमा बचत खाता सञ्चालन गर्दै ग्राहकहरूलाई बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, सेयर कारोबारको सहजीकरणका लागि डि–म्याट तथा आस्बा सेवा, कार्डलगायतका विद्युतीय भुक्तानीका माध्यमहरूमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाएको जानकारी दिएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहज रूपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।