काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई सहजरूपमा खोप उपलब्ध हुन थालेको छ । सरकारले वैदेशिक रोजगारीमा जानेलाई प्राथमिकता दिएर काठमाडौँका विभिन्न अस्पतालबाट जोन्सन एन्ड जोन्सनको खोप दिन सुरु गरेको हो ।
वैदेशिक रोजगारीमा जाने कामदारले सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु र टेकु अस्पतालबाट खोप लगाउन पाउनेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग वैदेशिक रोजगार व्यवसायी तथा श्रमिकहरूले एक डोज मात्र लगाउँदा हुने जोन्सन खोप व्यवस्थापन गर्न आग्रह गरेका थिए ।
मन्त्री श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई पत्र लेखेर खोप व्यवस्थापन गरिदिन आग्रह गरेका हुन् । श्रेष्ठले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई कोरोना भाइरसविरुद्धको खोपमध्ये जोन्सन एन्ड जोन्सन कम्पनीको खोप लगाएकाहरूलाई मात्र प्रवेश दिने भएकोले पाँच लाख डोज खोप व्यवस्थापन गरिदिन आग्रह गरेका थिए । वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई सहजरूपमा खोप उपलब्ध गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जोन्सनको खोप एक डोजमात्र लगाउँदा हुने भएकोले विदेश जानेहरूले यो खोप लगाउने गरेका छन् ।