जिना कोलाता । मानिस, मुसादेखि कुकुरहरुमा समेत कपाल झर्ने गरेको छ । यो अन्तप्र्राणी समस्या किन देखिन्छ त ?नर्थवेस्टर्न युनिभर्सिटीमा प्याथोलोजी (रोगविज्ञान)का प्राध्यापक रुई यीले यसको उत्तर तयार पारेका छन् ।
सामान्यतया स्टेम सेल्स (कोश)बारे सबैले स्वीकारेको परिकल्पनाले भन्छः यिनीहरुले विशिष्टीकृत कोशहरुमा आधारित कपालसहितका वनस्पति र जैविक अंगहरुको पुनर्भरण गर्छन् तर तिनीहरु शिथिल भएर मर्छन् । यो प्रक्रिया बुढ्यौलीको अभिन्न अंगको रुपमा देखिएको छ ।
यसको साटो डा. यी र उनका समकक्षीले भने कम्तीमा बढ्दो उमेरका प्राणीहरुको रौँहरुमा तिनलाई जोगाइराख्ने संरचनालाई स्टेम सेल्सले छोड्ने आश्चर्यलाग्दो तथ्य उजागर गरेका छन् ।‘योचाहिँ बुढ्यौलीबारेको नयाँ किसिमको सोचाइ हो’, युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियामा प्याथोलोजीका स्किन सेलका अध्येता तथा प्राध्यापक डा. चेंग–मिंग चुओङले भने । नेचर एजिङ जर्नलमा गत अक्टोबरमा प्रकाशित डा. यीको अध्ययनमा उनी संलग्न भने थिएनन् ।
उक्त अध्ययनले कपाल (रौँ) बूढो हुने दुई जिनहरुको पनि पहिचान गरेको छ जसले स्टेम सेलहरुलाई उम्किन नदिएर त्यो प्रक्रिया रोक्न सकिने नयाँ सम्भाव्यताबारे खुलाएको छ ।
स्ट्यानफोर्ड युनिभर्सिटीमा स्टेम सेलका अनुसन्धाता चार्ल्स के.एफ. चानले उक्त अनुसन्धानपत्रलाई ‘धेरै नै महत्वपूर्ण’ भनेका छन् । सँगसँगै विज्ञानमा बुढ्यौलीबारेका हरेक कुरा जटिल हुनाले कहाँबाट सुरु गर्ने भन्ने नै थाहा नहुने उनको भनाइ छ । उनका अनुसार यसको रौँ बूढो हुनेबारेको विश्लेषणका लागि एउटा बाटो र संयन्त्र देखाएर डा. यी र उनका समकक्षीले खुट्टा राख्ने ठाउँ प्रदान गरेका छन् ।
मुसा र मानिसमा रौँहरुको वृद्धिमा स्टेम सेल्सले महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । रौँ पलाउने सुरुङ आकारको सूक्ष्म अंग ‘हेयर फलिकल्स’ जो हुर्काइको चक्रिय अवधिद्वारा जान्छ ।
जहाँ स्टेम सेल्सको संख्या विशेष क्षेत्रमा बाँचेका हुन्छन् र रौँ कोशहरु तीव्र रुपमा हुर्किन थाल्छन् ।डा. यीको अध्ययनमा सहभागी नभएकी माउन्ट सिनाइमा रहेको आइकान स्कुल अफ मेडिसिनस्थित ब्ल्याक फेमिली स्टेम सेम इन्स्टिच्युटकी निर्देशक सारा मिलर ती कोशाणुले हेयर शाफ्ट (कपाल हुर्किने मार्ग) र यसको शिथ (खोल) बढाउने बताउँछिन् । त्यसपछि समय क्रमसँगै मानव शरीरका लागि छोटो र व्यक्तिको टाउकोका कपालका लागि धेरै लामो हुने गरी फलिकल निष्क्रिय हुने र यसका तल्लो भाग डिजेनरेट (खिइँदै जाने) हुने उनको भनाइ छ ।
त्यसपछि हेयर शाफ्टले हुर्किन छोड्ने र रौँ खस्ने हुन्छ । यो चक्र सुरु भएसँगै पुनः नयाँ कपालले मात्रै त्यसलाई प्रतिस्थापन गर्न सकिने हुन्छ । तर जब बाँकी रहेका फलिकल्स पनि मर्छन्, स्टेम सेल (कोशहरु) को समूह फुल्छन् र रौँ कोशहरुलाई नयाँ कपाल उत्पादन गराउन सुरु गर्छन् ।धेरै अरु वैज्ञानिकहरुजस्तै डा. यीले पनि स्टेम सेल एक्जस्टन (थकान)ले चिनिने एउटा प्रक्रियामा उमेरसँगै स्टेम सेल मर्ने गरेको अनुमान गरेका थिए । उनले हेयर फलिकलको स्टेम सेलहरुको मरण भनेको कपाल फुल्ने र जब पर्याप्ट स्टेम सेलहरु हराउँछन् रौँ पनि मर्न थाल्छन् भन्ने सोचेका थिए । तर यो परिकल्पना (हाइपोथेसिस) पनि पूर्ण परीक्षण गरिएको थिएन ।
विद्यार्थी चि झांगसँगै डा. यीले कपाल बूढो हुने प्रक्रिया बुझ्ने विचार गरे, उनलाई कपालको एउटा रौँको हुर्काइ र वृद्धिको प्रक्रिया हेर्नु थियो ।
सामान्य रुपमा अनुसन्धाताहरु फरक–फरक उमेरका जनावरबाट कपाल ल्याएर त्यसको बुढ्यौलीको अधययन गर्दै त्यसमा आएको परिवर्तनको अनुसन्धान गर्छन् । यसमा दुई कमजोरी रहेको डा. यीको भनाइ छ । पहिलो, त्यसरी ल्याइएका कपाल पहिल्यै मरिसकेका हुन्छन् र कसरी परिवर्तन हुन्छन् भन्ने नै स्पष्ट हुँदैन । तिनीहरुपछि के आउँछन् भन्ने पनि खुल्दैन ।
उनले आफ्नो टोलीलाई फरक तरिका अपनाउन भने । उनीहरुले कपालको भित्रसम्म पुग्नसक्ने लामो वेभलेंग्थ लेजर प्रयोगद्वारा मुसाको कानको कुनै विशिष्ट हेयर फलिकल्स वृद्धिक्रम हेरे । उनीहरुले हेयर फलिकल्सलाई हरियो फ्लोरोसेन्ट प्रोटिनसँगै मिलाए, जनावरलाई चल्न चटपटाउनबाट रोक्न एनेस्थेटाइज्ड (बेहोस बनाए) गरे, त्यसको कानलाई माइक्रोस्कोपमुनि राखे र बारम्बार पहिलेदेखि अनुगमन गरिएको उही हेयर फलिकल्स के भइरहेको छ त भनेर हेरिरहे ।
त्यसपछि उनीहरुले जे देखे– आश्चर्यजनक थियो । जब जनावर बूढो र खैरो हुँदै गयो, रौँहरु पनि झर्दै गए । तिनीहरुको स्टेम सेलहरुले उनीहरुको सानो घर छोड्न सुरु गरे । कोशहरुले उनीहरुको गोलो आकारलाई फलिकलमा रहेका साना गहिराइबाहिर अमिबाजस्तै संकुचित गरे । त्यसपछि फेरि तिनीहरु आफ्नै सामान्य आकारमा फर्किए र हराए ।
कहिलेकाही त यसरी भागेका स्टेम सेलहरु टाढा टाढासम्म अर्थात् सेलुलर टर्म (जीवितै अवस्थाको रुपमा)मा भन्ने हो भने उनीहरु बस्ने अनुकूल स्थानबाट पर पुगेको समेत पाइयो ।‘यदि म आफैँले यो देखेको थिइनँ भने विश्वासै गर्दिनथेँ होला’, डा. यीले भने, ‘मेरो लागि यो निकै रोचक थियो ।’त्यसपछि स्टेम सेलहरु हराए, सायद प्रतिरक्षा प्रणालीले शोस्यो होला ।
डा. चानले एउटा जनावरको शरीरलाई कारसँग तुलना गर्छन् । ‘यदि तपाईं यसलाई धेरै गुडाउनुहुन्छ र यसका कुनै पार्टपुर्जा फेर्नुहुन्न भने तिनीहरु थाक्छन्’, उनी भन्छन्, ‘शरीरमा स्टेम सेल त पार्टपुर्जा फेराइदिने मेकानिकजस्तै हुन्छन्, र कपाल, रगत र हड्डीजस्तै कुनै कुनै अंगमा यसलाई निरन्तर प्रतिस्थापन गर्नुपर्छ ।’
तर कपालसँग त अब यो स्टेम सेल मेकानिकजस्तै नै देखिन्छ, बस्, एक दिन काम गर्न छोड्छ । अनुसन्धाताहरुले मुसाको जिन नै अदलबदल गरिदिए । १८ महिना पुगेपछि यसमा रौँ झर्नथाल्यो तर अन्य हिसाबले भने स्वस्थ नै थियो । तर किन? डा. यी र उनका समकक्षीको अर्को कदम जिनहरुले त्यो प्रक्रियालार्य नियन्त्रण गरिरहेको हो कि होइन बुझ्नेतर्फ थियो ।
यसमा दुई कुरा पत्ता लाग्यो– फक्ससी१ र एनफ्याटसी१ (एफओएक्ससी१ र एनएफएटीसी१) । बूढा हेयर फलिकल सेलहरुमा तिनीहरु कम सक्रिय पाइए । उनीहरुको भूमिका बल्ज (फुलेको भाग)मा स्टेम सेललाई राखिराख्नु थियो । त्यसकारण अनुसन्धाताहरुले मुसाको प्रजनन गरे जसमा ती जिनहरु थिएनन् । योचाहिँ जिनहरु मुख्य नियन्त्रक हुन् कि होइनन् भन्ने जान्नका लागि थियो ।
ती मुसाहरु जब ४÷५ महिनाका भए, तिनीहरुको रौँ झर्न थाल्यो । १६ महिनाको हुँदा जब उनीहरु मध्यउमेरका थिए तिनीहरु साह्रै प्राचीन देखिए । तिनीहरुले धेरै रौँ गुमाएका थिए भने बाँकी रहेका पनि खैरो भए ।अब अनुसन्धाताहरु बूढा मुसाहरुमा हेयर स्टेम सेल बचाउन चाहिरहेका छन् । पूरै नसोचेको प्राकृतिक प्रक्रियाबारे पत्ता लगाउने यो समाचारले डा. चुओङलाई बाँचिरहेका प्राणीका यस्ता कुरा जान्नैपर्ने बनाएको छ ।‘प्रकृतिसँगका असीमित आश्चर्यहरुले हामीलाई पर्खिरहेको छ’, उनले भने, ‘तपाईं रोचक कुराहरु देख्न सक्नुहुन्छ ।’ एजेन्सीबाट भावानुवाद