ऐजेन्सी ।संसारकै ठूलो टेलिस्कोप अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । बीबीसीका अनुसार १० अर्ब अमेरिकी डलरको जेम्स वेब टेलिस्कोप पृथ्वीबाट प्रक्षेपण गरिएको हो । फ्रेन्च गुइनास्थित कोरोउ स्पेसपोर्टबाट एरियान रकेटबाट उक्त टेलिस्कोप प्रक्षेपण गरिएको हो । पृथ्वीको कक्षसम्म पुग्न रकेटलाई केवल एक घण्टा मात्र लागेको थियो । त्यसपछि केन्याको मालिन्डीस्थत आधार एन्टेनाले प्रक्षेपण सफल भएको सूचना दिएको थियो । एपोलो मुन ल्यान्डिङका एक आर्किटक वेबको नाममा यो टेलिस्कोपको नामकरण गरिएको छ । यसले हबल टेलिस्कोपलाई प्रतिस्थापन गर्नेछ ।
यसलाई अमेरिकी, युरोपेली र क्यानडेली अन्तरिक्ष अनुसन्धान केन्द्रले विकास गरेका हुन् । यो सय गुणा बढी शक्तिशाली भनिएको छ । यो टेलिस्कोपले संसारको उत्पत्तिबारे अनुसन्धान गर्ने अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले जनाएको छ ।यसको प्रक्षेपणकै लागि ३० वर्षयता विश्वका हजारौँ मानिसले काम गरेका छन् ।
यद्यपि यसले प्रारम्भिक छ महिनामा गर्ने कामलाई लिएर भने चिन्ता नै रहेको छ । यो टेलिस्कोप पृथ्वीभन्दा १५ लाख किलोमिटर टाढाको अनुगमनकर्ता स्टेसनको बाटोमा लग्ने काम भइरहेको बताइएको छ । यसका लागि टेलिस्कोपले त्यहाँसम्म पुग्न आफूलाई घटाउँदै लग्नुपर्नेछ । यसलाई वैज्ञानिकहरुले सहज मानेका छैनन् ।
यो टेलिस्कोपमा ६.५ मिटर फराकिलो गोल्डेन ऐन (मिरर) छ । यो हबलमा रहेभन्दा तीन गुणा ठूलो हो । अप्टिक ठूलो रहेको यसमा चारवटा सुपर–सेन्सिटिभ इन्स्ट्रुमेन्टको संयोजन छ । यसले खगोलविद्हरुलाई अन्तरिक्षको थप गहिराइमा पुगेर अनुसन्धान गर्न सहयोग गर्ने बताइएको छ । यसले खास सबैभन्दा पुराना ताराहरुबारे पत्ता लगाउनेछ अपेक्षा गरिएको छ जो बिगब्यांग (महाप्रलय)पछि अर्थात् झण्डै साढे १३ अर्ब वर्षअघि अन्तरिक्षमा विलय भएका थिए । त्यस्तै वेबको अर्को उद्देश्य टाढा रहेका ग्रहहरुको वायुमण्डलबारे अनुसन्धान गर्नु पनि रहेको छ । यसले अनुसन्धानकर्तालाई यी संसार मानव बस्न योग्य रहे नरहेको अनुसन्धानमा सघाउने अपेक्षा गरिएको छ ।