धनगढी । कक्षा १० मा अध्ययनरत चार विद्यार्थीहरूले पढाइसँगै धनगढीमा कार बनाएका छन् । कैलालीको धनगढीमा रहेको एक्सिस विद्याश्रमका चार जना छात्रले सारअल्फा नामक विद्युतीय चारपाङ्ग्रे कार बनाएका छन् । एक्सिस विद्या आश्रममा अध्ययनरत विद्यार्थी ऋषिकेश थापा, रोहित ऐर, आदित्य जोशी, सक्षम रेग्मीले कार बनाएका हुन् । कोरोनाको दोस्रो लहरमा जारी गरिएको लकडाउनमा उनीहरूले कार बनाउने निर्णय गरेका थिए । करिब चार महिना लगाएर करिब डेढ लाख लागतमा सारअल्फा नामक कार निर्माण गरेको ऋषिकेष थापाले बताए । घर परिवार र विद्यालयको सहयोगबाट आफूहरूले सो कार निर्माण गरेको उनको भनाइ छ । लकडाउनलाई सदुपयोग गरौँ भन्ने सोचले यो कार्य सुरु गरेको उनले जानकारी दिए । थापाले भने, ‘यो अवधिमा धेरै समस्या पनि आए, त्यही पनि हामीले घर परिवार र विद्यालयबाट आर्थिक सहयोग पायौँ । करिब चार महिना लाग्यो बनाउन । अहिले पनि निर्माण कार्य जारी छ ।’ कारमा चाहिने सामग्रीहरू विभिन्न ठाउँबाट जुटाएर निर्माण गरेको उनको भनाइ छ । पढाइसँगै आफूहरूको क्षमतालाई पनि बाहिर ल्याउने उद्देश्यले यो क्षेत्रमा लागेको उनीहरूको भनाइ छ । कारमा चारवटा ब्याट्रीको प्रयोग गरिएको छ । नेपालमा डिजेल पेट्रोलको भाउ दिनप्रतिदिन महँगी बढ्दै गएपछि नेपालमा पनि यस्तो किसिमको कार बनाउन आवश्यक ठानेर सुरुवात गरेको उनीहरूले बताए ।