काठमाडौँ । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा पहिलो चरणमा पाँच सय जना कामदार पठाउने तयारी गरेको वैदेशिक रोजगार विभागले आगामी महिना (माघ) भित्रमा उडाउने तयारी गरेको छ । यसका लागि विभागले काठमाडौंबाट इजरायलसम्मको हवाइयात्राको लागि भाडादर प्रस्ताव गर्न आग्रह गरेको छ ।
‘हामीले इजरायल रोजगारीको लागि सरकारको तर्फबाट सहजीकरणको भूमिका निर्वाह गरेको हौँ, सोहीअनुरुप प्रक्रियाहरु अघि बढाएका छौँ’, विभागका शाखा अधिकृत जीवन कुमार घिमिरेले आर्थिक दैनिकसँग भने । काठमाडौंदेखि इजरायलसम्मको हवाइ यात्रा भने सिधा उडान र एकल ट्रान्जिट हुने उनको भनाइ छ । नेपाली युवालाई इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदार पठाउने कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन भन्दै नेपाल सरकारले ‘इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७८’ निर्माण गरेको थियो भने सोहीअनुरुप नेपाली युवाका लागि इजरायल रोजगारी अघि बढाइएको हो ।
यस्तै इजरायल जाने तयारीमा रहेको युवाहरुले भने कोभिड १९ विरुद्धको खोप लगाएको छ महिना पूरा भएको हुनुपर्ने शर्त राखेको छ । कोभिड महामारीलाई ध्यानमा राखी इजरायल पक्षले कोभिडविरुद्धको खोप समयावधि राखेको शर्त भने पूरा गर्नुपर्ने नेपाली पक्षको दायित्व रहेको छ । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपाली युवाहरु लैजानको लागि नेपाल सरकारको तर्फबाट वैदेशिक रोजगार विभाग र इजरायल सरकारको तर्फबाट जनसंख्या र अध्यागमन विभाग (पीआईबी) लाई अधिकार दिएको छ । सन् २०२१ जनवरी २१ मा भएको श्रम सम्झौताबमोजिम नेपाली युवाहरु इजरायल जाने छन् । श्रम सम्झौताअनुरुप नेपाली युवाहरु इजरायले जाने हुँदा त्यहाँ पुगेपछि कुनै समस्या नहुने सरकारी दाबी रहेको छ ।
छनौट भएका युवाहरु अर्थात् स्वास्थ्य परीक्षण गरेका युवाहरु पाँच सय जना (३५० जना महिला र १५० जना पुरुष) पहिलो चरणमा इजरायल जानेछन् । उनीहरुलाई इजरायल लैजाने काम भने पीआईबीले गर्नेछ । ‘इजरायल जान तयारी अवस्थामा रहेका युवाहरु जानको लागि नेपाली पक्षले गर्नुपर्ने तयारी करिब सकिएको छ’, उनले आर्थिक दैनिकसँग भने, ‘अब इजरायल पक्षले कति जनालाई भिसा पठाउँछ भन्ने कुरा महत्वपूर्ण छ।’
निर्देशिकाबमोजिम नेपाली नागरिकलाई रोजगारीको लागि इजरायलमा पठाउँदा लाग्ने हवाइ भाडा, बीमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले व्यहोर्ने भनी रोजगार सम्झौतामा उल्लेख भएको सोहीबमोजिम र रोजगारदाताले नव्यहोर्ने अवस्थामा सम्बन्धित व्यक्तिले व्यहोर्नुपर्नेछ ।
यद्यपि कोभिड १९ बाहेक इजरायलले रोजगारीमा कुनै समस्या नरहेको बताइएको छ । पछिल्लो समय कोभिड तथा ‘ओमिक्रोन भेरियन्ट’ फैलिएको हुँदा यसले इजरायल रोजगारीमा असर पार्ला कि भन्ने आशंका रहेको शाखा अधिकृत घिमिरेले बताए । इजरायलको लागि नेपाली राजदूत डा.अन्जन शाक्यले नेपाली युवाहरुलाई रोजगारीको विषयलाई टुंगोमा पु-याएकी थिइन् ।