काठमाडौँ । बैंकिङ कसुरसम्बन्धी अपराधका मुुद्दाहरु बढेका छन् । नेपाल प्रहरीले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको कार्यगत प्रगति विवरणअनुसार यस अवधिमा बैंंकिङ कसुरसम्बन्धी अपराध गत आर्थिक वर्षको तुुलनामा यस आर्थिक वर्षमा बढेको देखिएको छ । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ मा बैंकिङ कसुर शीर्षकमा आठ सय ८० वटा अपराधहरु भएका थिए । ‘तर चालू आर्थिक वर्ष २०७८/०७९ को पाँच महिनाको अवधिमा भने बैंैकिङ कसुरसम्बन्धी १८ सय सातवटा अपराधहरु भएका छन्’, प्रतिवेदनमा भनिएको छ । यीबाहेक कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आत्महत्या र हातहतियार तथा खरखजानासम्बन्धी अपराधहरुमा भने गत आवको तुलनामा केही कमी आएको देखिएको छ । आव २०७७/०७८ मा यी शीर्षकहरुमा क्रमशः दुई सय ९०, चार सय ८४, २९ सय ५८ र एक सय २३ वटा अपराधहरु भएका थिए । चालू आवको पाँच महिनामा भने यस्तो अपराधहरुको संख्या क्रमशः दुई सय ४६, चार सय ६५, २६ सय २८ र ८९ रहेको छ । यीबाहेकका अन्य शीर्षकका अपराधहरु भने बढेको प्रतिवेदनमा उल्लेख छ ।