काठमाडौँ । प्रहरीले यातायात व्यवस्थापन विभाग गुर्जुधाराबाट नौ जना बिचौलियाहरुलाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका वडा नं. ५ मा रहेको उक्त यातायात विभागबाट प्रहरीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले विभागमा लाइसेन्स, ब्लुबुकलगायत कागजातहरुको राजस्व तिर्न गएका सर्वसाधारणलाई लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिनेगरेको पाइएको प्रहरीले जनाएको छ । सर्वसाधरणलाई छिटो काम गरिदिने आश्वासन दिई जबरजस्ती तानातान गरी अनावश्यक हैरानी दिएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
बिचौलियाहरुले दुःख दिएको सर्वसाधारणको गुनासोपछि महानगरीय प्रहरी परिसर काठमाडौँबाट प्रभाग बलम्बुका कार्यालय प्रमुख प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली परिचालन गरी अनुसन्धान बढाइएको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले बिचौलिया काम गर्ने नौ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो उनीहरुलाई प्रहरी वृत्त थानकोटले थप अनुशन्धान गरिरहेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।