लण्डन । इतिहासमै पहिलोपटक विश्व अर्थतन्त्रले सन् २०२२ मा एक सय ट्रिलियन अर्थात् १ हजार खर्बको आकार बनाउने भएको छ । ब्लुमबर्गका अनुसार सेन्टर फर इकोनोमिक्स एन्ड बिजनेस रिसर्च (सीईबीआर) का अनुसार अनुमान गरिएभन्दा दुई वर्षअगाडि नै विश्व अर्थतन्त्रले उक्त कोशेढुंगा पार गर्ने देखिएको हो ।
महामारीबाट तंग्रिँदै गर्दा विश्व कुल गार्हस्थ्य उत्पादनमा योगदान मिले पनि यदि महंगी बढिरहने हो भने नीतिनिर्मातालाई अर्थतन्त्र मन्दीमा जानबाट जोगाउन गाह्रो पर्न सक्ने लन्डनको थिंकट्यांकले भनेको छ । ‘२० को दशकको मूलमुद्दा नै अर्थतन्त्रले महंगीको सामना गर्नु हुनेछ’, सीईबीआरका डेपुटी प्रमुख डग्लास म्याकविलियम्सले भने, ‘हामीले स्थायी तत्वहरुलाई नियन्त्रणमा राख्ने आशा गरेका छौँ, यदि भएन भने सन् २०२३ वा २०२४ मा संसारले मन्दीको सामना गर्नुपर्नेछ ।’
यतिमात्र होइन अन्तर्राष्ट्रिय मुद्रा कोषकै अनुमानमा पनि विश्व जीडीपी डलरमा अहिलेकै मूल्यअनुसार पनि सन् २०२२ मा सय ट्रिलियन डलर नाघ्ने देखिएको छ । यसबाहेक चीनले सन् २०३० मा अमेरिकालाई विश्वकै ठूलो अर्थतन्त्र बन्दै उछिन्ने देखिएको छ। एक वर्षअघि गरिएको भन्दा दुई वर्ष ढिला गरी चीन विश्वको नम्बर १ अर्थतन्त्र बन्ने अहिलेको प्रक्षेपणले देखाएको हो।
यस्तै भारतले अर्को वर्ष फ्रान्सलाई धकेल्दै छैठौँ नम्बरमा स्थान बनाउने र सन् २०३१ सम्ममा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने देखिएको छ। यो पनि यसअघिको अनुमानमा भन्दा १ वर्ष ढिला गरी हुने देखिएको छ । बेलायत भने ब्रेक्जिटकै बाबजुद पनि २०३६ मा फ्रान्सको भन्दा १६ प्रतिशत ठूलो अर्थतन्त्र हुने देखिएको छ।
जर्मनीले सन् २०२३ मै जापानलाई उछिन्ने देखिएको छ ।