काठमाडौँ । कुमारी बैंक लिमिटेडको व्यवस्थापनमा रहेको कुशल नेतृत्वको कारण १९ करोड ऋणकर्जा प्रकरणमा बैंकका कर्मचारीहरु बैंकिङ्ग कसुर मुद्दा चल्नबाट जोगिएका छन् । नेतृत्वको विवेकपूर्ण निर्णयका कारण उक्त प्रकरणमा बैंकबाट प्रवाह भइसकेको कर्जा रकम समेत सुरक्षित गरेको छ । गायक योगेश्वर अमात्यले आफ्नो जग्गाको नक्कली जग्गाधनी प्रमाण पुर्जा तयार गरेको भनी केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी गरेका थिए । उक्त उजुरीमा छानबिन हुँदा सरकारी वकिल कार्यालयले बैंकिङ्ग कसुर मुद्दा समेत आकर्षित हुने देखिँदा सोउपर समेत छानबिन गर्न ब्युरोलाई निर्देशन दिएको थियो । छानबिन हुँदा बैंकले गायक अमात्यको उजुरी पर्नुअघि नै बैंकबाट प्रवाह भएको कर्जा असुलउपर गरिसकेको देखिएपछि विशेष सरकारी वकिल कार्यालयले बैंकिङ्ग कसुर मुद्दा चलाउन नपर्ने भनी राय व्यक्त गरेको हो । गायक अमात्यको नाममा रहेको कम्पनीको स्वामित्वमा रहेको जग्गाको नक्कली जग्गाधनी दर्ता प्रमाण पुर्जा बनाई कुमारी बैंक लिमिटेड, न्युरोड शाखाबाट निकालिएको कर्जा बैंकले सो कर्जाको सुरक्षणस्वरुप रहेको धितो कीर्ते रहेको जानकारी प्राप्त गर्नासाथ ऋणीबाट कर्जा असुलउपर गराएको बताएको छ । यस कार्यले एकातिर बैंकले सर्वसाधारणको निक्षेप सुरक्षित गरेको छ भने अर्कोतिर आफ्ना कर्मचारीहरुउपर बैंकिङ्ग कसुर मुद्दा चल्नबाट जोगाएको छ । बैंकका का.प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सनाको नेतृत्वमा कर्जा सुरक्षित भएपछि यस प्रकरणमा संलग्न कर्मचारीहरु भविष्यमा बैंकले आवश्यक पर्दाको बखत जिम्मेवारीबाट नपन्छिई आफ्ना कर्मचारीहरुलाई संरक्षण गर्न प्रयास गर्ने हुँदा आफूलाई यस कुमारी बैंकमा कर्मचारी भई कार्य गर्न गौरव महशुस भएको यसै प्रकरणमा संलग्न एक कर्मचारीले बताए ।