काठमाडौँ । सीटीईभीटीका सदस्यसचिव जीवनारायण काफ्लेले पत्रिका वितरणका लागि पुगेका हिमालय टाइम्स दैनिकका कर्मचारीलाई सीटीईभीटी कार्यालयमै थुनेर राखेका छन् ।
आफूले गरेको कालो कर्तुतका विषयमा लगातार समाचार आइरहेको पत्रिका यहाँ किन बाँडेको भन्दै गुणगान गाउन नसक्ने पत्रिकाका कर्मचारीलाई थुन्ने भन्दै आफ्नो कार्यालयमा नै थुनेका हुन् ।
मंगलबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा पत्रिका बाँड्नपुगेका हिमालयटाइम्सकर्मी न्हुछेराम खुसुलाई सदस्यसचिव काफ्लेले थुनेर दुर्व्यवहार गरेसँगै मिडिया एलाइन्सले विज्ञप्ति जारी गर्दै विरोध जनाएको छ । एलायन्सले विज्ञप्तिमा भनेको छ– पत्रिका वितरणका क्रममा कार्यालय हाताभित्र हिटाकर्मी न्हुछेराम खुसुमाथि काफ्लेले गरेको दुर्व्यवहारको घोर भत्र्सना गर्दछौँ ।
‘सदस्यसचिव काफ्लेका विभिन्न शंकास्पद गतिविधिविरुद्ध विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन हुँदै आएका समयमा सोही समाचारको विषयलाई लिएर कुनै एक व्यक्तिविशेषलाई कार्यालयभित्रै थुन्नु निन्दनीय छ’, मिडिया एलाइन्सको विज्ञप्तिमा भनिएको छ, ‘समाचारप्रति चित नबुझे खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी दिनेजस्ता व्यवस्था हुँदाहुँदै भौतिक आक्रमणमा नै उत्रिनु खेदजनक छ ।
काफ्लेको यो क्रियाकलापप्रति सम्बन्धित निकायको ध्यान जान र गालीगलौज तथा बन्धक बनाउनेजस्ता उनका कार्यका लागि सदस्यसचिव काफ्लेलाई कारबाहीको दायरामा ल्याउन मिडिया एलाइन्सले माग गरेको छ ।