बझाङ । सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा बुधबार बिहानैदेखि हिमपात सुरु भएको छ । यहाँका डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै सडक भीमदत्त राजमार्गको हगुल्टे, शाहुखर्क क्षेत्रमा रातिदेखि हिमपात सुरु भएपछि राजमार्ग अवरुद्ध भएको छ । सवारीसाधन राजमार्गमै रोकिएका कारण सवार यात्रुहरूलाई निकै समस्या भएको छ । भिमदत्त राजमार्गको साहुखर्क र हगुल्टेमा बुधबार बिहानैदेखि सडक अवरुद्ध भएको डँडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । उनले अवरुद्ध सडक सुचारू गर्न जेसीबी पठाइएको उनले जानकारी दिए । हिमपातले एक्कासि बढेको चिसोका कारण विशेष गरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन् ।