काठमाडौँ । सरकारले ‘एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप’ बिजेता नेपाली खेलाडीहरूलाई पुरस्कार दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मानपत्रसहित नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले उपाधि विजेता १२ जना खेलाडीहरूलाई जनही पाँच/पाँच लाख, दुई जना प्रशिक्षकलाई जनही तीन लाख र एक जना अफिसियललाई दुई लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे हो । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले राष्ट्रिय टिमका खेलाडीहरूलाई नगद राशिले पुरस्कृत गर्ने प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा लगेका थिए ।
बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई तीन–दुईको सेटमा हराएको थियो । उपाधि विजेता नेपाली टिम आज बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।