काठमाडौँ । स्थानीय तहमा बीमासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालनलाई अभियानका रूपमा अगाडि बढाउने क्रममा प्रदेश नं. २ को बारा जिल्लाको कलैया उपमहानगरपालिकाको कलैयामा बीमासम्बन्धी जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बीमा समितिको आयोजनामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादव, उपप्रमुख रहिमा खातुन, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक दिनेश कुमार लाल, कलैया उपमहानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य र प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारीहरू, बीमा, बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, शिक्षक, कृषक र सर्वसाधारण गरी करिब ५० जनाको सहभागिता थियो ।
कार्यक्रममा प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले आम नगरवासीलाई बीमाको दायरामा ल्याउनका लागि उपमहानगरपालिकाको आगामी बैठकमा बीमासम्बन्धी नीतिगत व्यवस्थाका लागि आवश्यक निर्णय गर्ने जानकारी दिएका छन् । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले विपत्बाट हुने नोक्सानीबाट आइपर्ने आर्थिक क्षतिलाई न्यून गर्नका लागि उपमहानगरपालिकाले बीमासम्बन्धी नीति ल्याएर आम नगरवासीलाई बीमाको दायरामा ल्याउनुपर्ने बताए ।
उनले आर्थिक रूपमा सम्पन्न व्यक्तिलाई स्वयम् नै बीमा गर्न प्रोत्साहित गर्न र न्यून आय भएका वर्ग पहिचान गरेर उनीहरूका लागि भने उपमहानगरपालिकाले नै बीमा गरिदिने व्यवस्था गर्नु उपयुक्त हुने सुझाव दिए । अध्यक्ष सिलवालले देशमा बीमाको पहुँच बढाउनका लागि बीमा समितिले स्थानीय तहमा बीमा सचेतना कार्यक्रम आयोजनालाई अभियानका रूपमा अगाडि बढाएको उल्लेख गर्दै बीमासम्बन्धी जनचेतना अभिवृद्धि र नीति निर्माणका लागि आवश्यक सहयोग गर्न बीमा समिति तयार रहेको बताए ।