हङकङ, माघ २१
पछिल्लो केही सातायता चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संक्रमणबाट जोगिन हङकङले मूलभूमि चीनसँगको सीमा बन्द गर्ने घोषणा गरेको छ । सोमबार हङकङकी नेतृ क्यारी लामले चीनबाट हङकङ प्रवेश गर्ने हरकोहीलाई रोक्न उक्त घोषणा गरेकी हुन् । सार्वजनिक दबाब बढ्दै गएपछि नेतृ लामले उक्त कदम चालेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । सीमा बन्द गरे पनि सिल गर्ने प्रस्ताव भने नभएको बताइएको छ ।
घोषणासँगै लो वु र लोक मा चाउ सीमाविन्दु सोमबार रातिदेखि नै बन्द भएका छन् । आवश्यकता अनुसार अन्य कदम चालिने लामले बताएकी छिन् । स्वास्थ्य स्वयंसेवकहरुले सोमबार पाँच दिने बन्दको घोषणा गरेपछि लाममाथि दबाब बढेको थियो । उनीहरुले पूरै सीमा बन्द गर्न माग गरेका छन् । पछिल्लो समय भाइरस फैलिनथालेपछि चीनबाट हङकङ आउनेको संख्या समेत घटेको बताइएको छ ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट सोमबारसम्म ३ सय ६२ जनाको मृत्यु भइसकेको छ भने हजारौँ संक्रमणको चपेटामा परेका छन् । चीनमा मात्रै ३ सय ६१ जनाको मृत्यु भएको छ । संक्रमण भने चीनसँगै हङकङ, मकाउ, अस्ट्रेलिया, कम्बोडिया, क्यानडा, फिनल्यान्ड, फ्रान्स, जर्मनी, भारत, इटली, जापान, मलेसिया, नेपाल, फिलिपिन्स, रुस, सिंगापुर, दक्षिण कोरिया, स्पेन, श्रीलंका, स्विडेन, ताइवान, थाइल्यान्ड, यूएई, यूके, अमेरिका र भियतनाममा फैलिइसकेको छ ।