इस्लामावाद, माघ २१
अन्तर्राष्ट्रिय मुद्राकोषको एक टोली ६ अर्ब डलरको वित्तीय प्याकेजले काम गरे/नगरेको अध्ययन गर्न पाकिस्तान आएको छ । गत वर्ष जुलाईमा उक्त डलरको ‘बेल आउट’ प्याकेज कोषले पाकिस्तानलाई दिएको थियो । टोली ११ दिन लामो भ्रमणका क्रममा पाकिस्तान आएको बताइएको छ । चालू आर्थिक वर्षको पहिलो सात महिनामा पाकिस्तानको राजस्व संकलनमा कमी आएको छ । यो प्याकेजअनुसार सुधारात्मक अवस्था देखिए कोषले पाकिस्तानलाई अर्को ४५ करोड डलर सहायता दिनेछ । गत वर्ष नोभेम्बरमा पनि कोषले ३९ महिने कार्यक्रमको मूल्यांकन गरेको थियो ।
खासगरी प्याकेजसँगै पाकिस्तानी बजारको स्वस्थता र विदेशी विनिमय सञ्चितिमा सहयोग पुग्ने कोषको अपेक्षा थियो । पाकिस्तानले हालसम्म १ अर्ब ४४ करोड डलर सुरक्षित गरेको छ । सोहीअन्तर्गत जुलाईमा ९९ करोड १० लाख डलर पाएको थियो । गत वर्ष डिसेम्बरमा पाकिस्तानले पहिलो किस्ताजसरी ४५ करोड २० लाख डलर पाएको थियो । कुल रकम भने ६ अर्ब डलर रहेको छ । पाकिस्तानले सन् २०२३ सम्म १.६५ अर्ब डलरको हिसाबले रकम पाउनेछ । सोही समयमा पाकिस्तानले कोषलाई ४ अर्ब ३६ करोड डलर तिर्नेछ ।