काठमाडौँ । इजीलिंक रेमिट्यान्स प्रालि र महालक्ष्मी विकास बैंकबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा इजीलिंक रेमिट्यान्स प्रालिकातर्फबाट प्रमुख कार्यकारी अधिकृत डीपी अर्याल, अपरेसन म्यानेजर शालिकराम दाहाल र महालक्ष्मी विकास बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत बोधराज देवकोटा, केन्द्रीय कार्यसञ्चालन विभाग प्रमुख रमेश कुमार साहले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअन्तर्गत अब इजीलिंक रेमिट्यान्सको कोरियाबाट हानपास रेमिट्यान्स, जापानबाट ट्रान्स रेमिट्यान्स, साइप्रसबाट मासारी पेमेन्ट सर्भिसेस, अष्ट्रेलियाबाट इजीलिंक ट्रान्सफर साथै एसबीएल रेमिट, रेमिट टु नेपाल, कामना सेवा रेमिट, एडीबीएल रेमिट, लुम्बिनी रेमिटमार्फत आएको रकम महालक्ष्मी विकास बैंकको नेपालभरि छरिएर रहेका एक सय तीनवटा शाखाहरूमार्फत सहजै भुक्तानी लिन सकिने भएको छ । छिटो, छरितो र सहज तरिकाले विप्रेषण रकमलाई सेवाग्राहीसम्म पु-याउन यो सम्झौताले थप सहज हुने बताइएको छ ।
इजीलिंक रेमिट्यान्सले आफनो व्यवसाय विस्तारलाई तीव्रता दिँदै खाडी मुलुकलगायत विश्वका विभिन्न मुलुकहरूबाट समेत तत्कालै सेवा सुचारु गर्न लागिएको समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्यालले जानकारी गराए ।
हाल इजीलिंक रेमिट्यान्स प्रालिले ग्राहकको चाहनालाई मध्यनजर गदै दक्षिण कोरिया, जापान, साइप्रस, अष्ट्रेलियालगायत विश्वका विभिन्न मुलुकहरूबाट रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ । विदेशबाट पठाएको रकम बैंक खातामा पाँच मिनेटमै जम्मा हुने व्यवस्था पनि मिलाएको छ ।
ग्राहकहरूको सेवा सुविधालाई मध्यनजर गर्दै रकम भुक्तानीमा कुनै समस्या परेमा कम्पनीको फोन नम्बर ०१—४३८८३७५ मा सम्पर्क गर्नुहुन साथै भुक्तानी सेवा प्रदायक संस्थाहरूले समेत एजेन्ट भई काम गर्नको लागि कम्पनीको इमेलमा कागजात पठाई वा सोझै कार्यालयमा सम्पर्क गरी एजेन्ट लिई सेवा सञ्चालन गर्न सकिनेछ ।
नेपालभरि छरिएर रहेका बैंक तथा वित्तीय संस्था, सहकारी, फाइनान्स कम्पनी, भुक्तानी एजेन्टहरूसहित देशभरि रहेका सात हजारभन्दा बढी एजेन्ट सञ्जालहरूमार्फत सहज तरिकाले भुक्तानी लिन सकिने व्यवस्था रहेको कम्पनीका अपरेसन म्यानेजर शालिकराम दाहालले जानकारी दिएका छन् ।