काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलका रूपमा रहेको भलिबल खेलाडीका लागि छुट्टै कबर्डहल निर्माण गर्ने बताएका छन् । एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा सहभागी भई स्वदेश फर्केका नेपाली भलिबल टिमका खेलाडीलाई विमानस्थलमा स्वागत गर्दै उनले कबर्डहल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाए ।
भलिबललाई व्यवस्थित रूपमा विकास गर्दै लैजानुपर्ने उनको भनाइ थियो । ‘राष्ट्रिय खेलका रूपमा रहेको भलिबलको अहिलेसम्म एउटा पनि भौतिक संरचना नहुनु दुःखद हो’, उनले भने, ‘ढुक्क हुनुहोस्, अब भलिबलको आफ्नै कबर्डहल हुनेछ ।’ एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको बिजेता नेपाली भलिबल टिम बिहीबार स्वदेश फर्किएको हो ।
प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोली र चौथो भएको पुरुष टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । छ राष्ट्र सहभागी सेन्ट्रल जोनमा उज्वेकिस्तानलाई फाइनलमा ३–२ ले पारजित गर्दै नेपाली महिला टिमले उपाधि रक्षा गरेको थियो । साविकको बिजेता महिला टिमले आफ्नो उपाधि रक्षा गर्दा पुरुष टिम भने चौथो स्थानमा रोकिन पुगेको थियो । खेलाडीहरूलाई स्वागत गर्दै मन्त्री गहतराजले नेपाली टिमको जितले गौरबको अनुभूति भएको बताए ।
महिला टिमले उपाधि रक्षा गरेको खबर प्राप्त भएलगत्तै बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीहरूलाई जनही पाँच लाखको दरले पुरस्कृत गर्ने निर्णय गरेको बताउँदै मन्त्री गहतराजले आगामी दिनमा थप जिम्मेवार र लगनशील भएर खेल्न खेलाडीहरूलाई आग्रह समेत गरेका थिए ।
नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले बिजेता खेलाडीहरूलाई नगद राशीले सम्मान गर्ने सरकारको निर्णयले थप हौसला बढाएको बताइन् । ‘तपाईँहरूले हाम्रो हौसला बढाइदिनुभएको छ । जुन सफलता हासिल गरेका छौँ, अझै हामीले जिम्मेवारी थपिएको महसुस गरेका छौँ । आगामी दिनमा अझै राम्रो गर्ने बाचा गर्न चाहन्छु’, अरुणाले भनिन् ।