काठमाडौँ । नेपाल वायुसेवा निगमको बाइडबडी ए–३३० र न्यारोबडी ए–३२० विमानमा प्राविधिक समस्या देखिएको छ । कम्पनीका अनुसार निगमको बाइडबडी ए–३३० विमानमा गत मंगलबार काठमाडौँ–नारिताको नियमित उडानको तयारी गर्ने क्रममा प्राविधिक समस्या देखिएको थियो । विमानको आवश्यक चेकजाँच गर्दा इलोक्ट्रनिक कन्ट्रेक्टर म्यानेजमेन्ट युनिट (ईसीयमयू)मा समस्या देखिएको निगमले जनाएको छ ।
श्रीलंकाबाट आवश्यक पार्टपुर्जा भित्र्याई निगमकै दक्ष इन्जिनियरिङ टिमबाट मर्मत गरी बिहीबारबाट उक्त विमान सञ्चालनमा समेत ल्याइएको निगमको भनाइ छ । बिहीबार दिउँसो २ बजे विमानलाई उडानयोग्य बनाई उक्त विमानबाट काठमाडौँ–दिल्ली नियमित उडान समेत गरिएको पनिगमले जनाएको छ ।
यस्तै निगमको न्यारोबडी ए–३२० विमान गत मंगलबार नै काठमाडौँ–दोहा नियमित उडानमा सुरक्षित अवतरणपश्चात् पार्किङ गर्ने क्रममा विमानको एउटा इन्जिनमा प्राविधिक समस्या देखिन गएको थियो । उक्त समस्याको थप निरीक्षण दोहास्थित कतार एयरवेजका इन्जिनियरिङ टिमले गर्दा बायाँतर्फको इन्जिनमा इटरनल डिफेक्ट पहिचान भएको कम्पनीले जनाएको छ ।
उक्त इन्जिनको उत्पादनकर्ता पीडब्लू/आईएईसँग निगम व्यवस्थापनले आवश्यक परामर्श लिँदा इन्जिनलाई रिप्लेस गरी रिपियर गर्न सुझाएबमोजिम विमानलाई यथासक्दो छिटो उडानयोग्य अवस्थामा ल्याउन आवश्यक प्रक्रिया अघि बढाइएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।