काठमाडौं निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले काठमाडौँ–सुर्खेत व्यावसायिक उडान सुरू गर्ने भएको छ । आज आइतबारदेखि थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो ।
हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौँ–सुर्खेत रुटमा उडान गर्दै आएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतबारदेखि १८ सिटे जहाजबाट उडान सुरु गर्न लागेको जानकारी दिए । कम्पनीले काठमाडौँ–सुर्खेत उडानका लागि भाडादर समेत तोकिसकेको जनाएको छ ।
अनलाइन टिकटमा काठमाडौैँ–सुर्खेतका लागि आठ हजार पाँच सय ४५ रुपैयाँ, नौ हजार पाँच सय ४५ रुपैयाँ र ११ हजार चार सय २० रुपैयाँ भाडादर तोकेको छ । उक्त एयरलाइन्सले दैनिक बिहान ८ः३० बजे काठमाडौँबाट र सुर्खेतबाट ९ः५० बजे उडान भर्ने जनाएको छ ।
प्रवक्ता थापाले पुस २६ गतेदेखि भने दिउँसो २ः३० बजे काठमाडौँबाट र सुर्खेतबाट ३ः५० बजे उडान गर्ने बताए ।