वासिङ्टन । जब भविष्यका पुस्ताले अन्तरिक्ष यात्राको इतिहासबारे लेख्नेछन्, २०२१ ले आफ्नै अध्याय पाउनेछ । ‘अर्बपतिहरुको वर्ष’, सायद यही भनिनेछ ।
जेफ बेजोस र रिचार्ड ब्रान्सन दुवै अन्तरिक्षको किनारामा सुपरसोनिक अनुभूतिको आनन्द लिए । योसँगै उनीहरुले दशकौँदेखिको प्रतिज्ञा पूरा गर्दै आफ्ना प्रतिस्पर्धी निजी क्षेत्रको अन्तरिक्षयान सञ्चालनमा ल्याए ।
९० वर्षीय ‘स्टार ट्रेक’ अभिनेता विलियम शेटनर र ‘गुड मर्निङ अमेरिका’का सह–प्रस्तोता माइकेल स्ट्रेहानजस्ता चर्चित कलाकारले लगत्तै त्यसलाई पछ्याए । अर्का अर्बपतिले त स्पेस एक्सको अर्बिटल क्याप्सुलमा ऐतिहासिक तीन दिने मिसनको लागि स्रोत जुटाएर दशकयता कुनै पनि मानव उडेभन्दा उचाइमा यात्रा गरे ।
र सबै ती प्रतिबद्धताहरुले पूरा हुने सुरुवात गरेका छन् । अन्तरिक्ष अर्बपतित्रय ब्रान्सन, बेजोस र इलोन मस्कको आँखा भविष्यमाथि केन्द्रित छ । बितेको वर्ष उनीहरुको दूरदर्शिता एकअर्काविरुद्ध बढिरह्यो, कोभन्दा को कम भन्नेसँगै विवादहरुले पनि निरन्तरता पायो ।
व्यावसायिक अन्तरिक्ष उद्योगका बितेको वर्षका केही महत्वपूर्ण क्षण :
ब्रान्सन र बेजोस
ब्रान्सन र बेजोसका अन्तरिक्ष कम्पनीहरुले छोटै समयका लागि भए पनि मानिसहरुलाई अन्तरिक्ष पु-याउन वर्षाैँदेखि अन्तरिक्ष यान निर्माणमा काम गरिरहेका थिए ।
अन्तरिक्षमा पुगेर पृथ्वी हेर्ने टिकट खरिद गर्न सकिने प्रतिबद्धता उनीहरुले पूरा गरिदिएका छन् । तर जब मस्कको स्पेस एक्सको कुरा आउँछ उनीहरुको भन्दा यो अलिक खतरनाक अन्तरिक्ष ट्रेक हुन्छ । स्पेसएक्स सबअर्बिटल पर्यटन खेलमा छैन । यसका रकेट र अन्तरिक्षयानले लामो समयको यात्रा गर्छन् । पृथ्वीको कक्षमै पुग्छन् ।
दुवै अर्बपतिले सबअर्बिटल स्पेस टुरिज्म व्यवसायमा आफैँ सहभागी गएर सुरु गरेका छन् । आफ्नो यानको सुरक्षा भरपर्दो रहेको देखाउन पनि उनीहरुले यसो गरेका हुन् । ब्लु ओरिजिनका संस्थापक बेजोस आफैँले विकास गरेको अन्तरिक्ष यानमा अन्तरिक्ष पुग्ने पहिलो व्यक्ति बन्ने योजनामा थिए । उनी जुलाई २० मा उक्त यात्रामा सहभागी हुने भनिएको थियो ।
त्यसपछि ब्रान्सनले बेजोसको उडान योजनाको नौ दिनअघि नै जुलाई ११ मै भर्जिन गालाक्टिकले विकास गरेको रकेट पावर्ड अन्तरिक्ष विमानमा उड्ने घोषणा गरे । दुवै अर्बपति आफ्नै यानमा अन्तरिक्ष उडे । बेजोस ८२ वर्षीय वाली फन्कसँगै अन्तरिक्ष सयरमा निस्किए । त्यसमै १८ वर्षका ओलिभर डाइमेन पनि सहभागी भए ।
बेजोसको मिसनले सबैभन्दा वृद्ध र सबैभन्दा कान्छालाई अन्तरिक्ष पु-यायो भने ब्रान्सनले कम्पनीकै कार्यकारी सिरिषा बन्डलालाई सहभागी गराए । उनी भारतमा जन्मेर अन्तरिक्ष पुग्ने दोस्रो महिला बनिन् । उता मस्कको इन्स्पिरेसन४ मिसन व्यावसायिक अन्तरिक्षयात्रीविनै उडान गर्न सफल भयो । उनीहरुले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनभन्दा पनि माथि पुग्ने अवसर पाए । अघिल्ला दुई उडानभन्दा यो लामो पनि रह्यो । यसमा सहभागी अन्तरिक्षयात्री शताब्दीयता कुनै मानिस नपुगेको अन्तरिक्ष स्थानमा पुगेर फर्किए । उनीहरु क्याप्सुलमा तैरिए, गीत बजाए र रमे ।
योसँगै अन्तरिक्ष पर्यटनको जग बितेको वर्षमा बसेको छ । यद्यपि पृथ्वीमा मानिस भोकमरीमा परिरहेका बेला अर्बपतिहरुको अन्तरिक्ष दौडको चर्को आलोचना समेत भएको छ ।