दोलखा । जिल्लाको गौरीशंकर गाउँपालिकाको कार्यालयमा आइतबार बिहानदेखि तालाबन्दी गरिएको छ । गौरीशंकर–४ झ्याकु बासापन्डित प्राविका शिक्षक सालिकराम कार्कीलाई गौरीशंकर गाउँपालिकाले अन्यत्र सरुवा गरेपछि अभिभावकहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
बासापन्डित प्राथमिक विद्यालयका शिक्षक कार्की केही दिनदेखि विद्यालयमा उपस्थित नभएपछि विद्यालय व्यवस्थापन समिति र अभिभावकले उनको खोजी गरेको थिए । खोजी गर्ने क्रममा विद्यालयलाई जानकारी नै नदिई सेतीदेवी प्राविमा उनको सरुवा गराएको थाहा भएपछि अभिभावकहरूले गाउँपालिकामा तालाबन्दी गरेको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पासाङ शेर्पाले बताए ।
विद्यालयलाई थाहा नै नदिई तथा अर्को शिक्षक नै नपठाई शिक्षकको सरुवा गरेपछि अभिभावकहरू आक्रोशित भएका छन् । गाउँपालिकाले दुई महिनाअघिदेखि विद्यालयमा शिक्षक अभाव पारेकाले तालाबन्दी गर्नुपरेको अध्यक्ष शेर्पाले बताए । समितिले शिक्षक कार्कीलाई तत्काल फिर्ता पठाउन माग समेत गरेको छ ।
गाउँपालिकाले ताला खोल्न खोजे पनि समितिले माग पूरा नगरी ताला खोल्न नदिने निर्णय गरेको छ ।