विराटनगर । आफ्नो सिमेन्ट नम्बर एक रहेको भन्दै आकर्षक विज्ञापन गर्दै आएको सप्तकोशी सिमेन्टले खुलेआम जनता झुक्याउनुको साथै राजस्व समेतमा व्यापक अनियमितता गरेको पाइएको छ ।
मोरङ जिल्लाको कटहरी गाउँपालिकामा सञ्चालन हुँदै आएको शप्तकोशी सिमेन्टको गुणस्तर परीक्षण गर्ने सरकारी निकाय समेत मौन देखिएको छ । उसले यसैको फाइदा उठाउँदै एकातिर आफ्नो उत्पादन उच्च गुणस्तरयुक्त भएको भन्दै आक्रामक रूपमा सिमेन्टको प्रचार गरिरहेको छ । तर उक्त सिमेन्टको गुणस्तर नै नपुगेको स्रोतको दाबी छ ।
सिमेन्टको गुणस्तर मापदण्डअनुसार नपुगेको अवस्था हुँदाहुँदै पनि गुणस्तर विभाग भने मौन बस्नुले कम्पनी र विभागबीचको लेनदेन हुनसक्ने आकलन गरिएको छ । स्रोतका अनुसार सप्तकोशी सिमेन्टलाई गुणस्तर विभागबाटै ग्रीन सिग्नल आएपछि कम्पनीले सोहीअनुसार लामो समयदेखि गुणस्तरहीन सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गर्दै आएको छ ।
प्रदेश १ मा सञ्चालित ठूला निर्माण आयोजनाहरूमा समेत गुणस्तरहीन सप्तकोशी सिमेन्ट प्रशस्त मात्रामा बिक्रीवितरण भइरहेको छ । खरिद गरिएको सिमेन्ट फिर्ता हुँदा करोडौँको हानि कम्पनीलाई पर्ने निश्चित देखिएपछि सप्तकोशी सिमेन्टका सञ्चालकले गुणस्तर विभागसँग चलखेल गरी गुणस्तरहीन सिमेन्टलाई गुणस्तरको छाप लगाएर बजारमा पठाउने गरेको स्रोतको दाबी छ । सिमेन्टको गुणस्तरमा धेरै पहिलेदेखि नै सप्तकोशी सिमेन्ट विवादित बन्दै आएको छ ।
सिमेन्टको गुणस्तरसँगै कम्पनीले सरकारी राजस्वमा समेत व्यापक छली गर्नेगरेको बारेमा पनि प्रश्न उठ्न थालेको छ । उक्त सिमेन्ट उद्योगका सञ्चालक आषिस गोयलले सिमेन्ट प्याकिङका लागि प्रयोग गरिने बोरा खरिदमा ब्यापक अनियमितता गरी ठूलो रकममा राजस्व छली गरेको स्रोतको दाबी छ ।
केही समय अगाडि सप्तकोशी सिमेन्टले स्थानीय एक बोरा उत्पादक कम्पनीसँग चार लाख बोरा खरिदको सम्झौता गरेको थियो । सम्झौताअनुसारको बोराको बिलिङ गरी दुई लाख बोरा कम्पनीमा आइसकेपछि बोराको अर्डर नै रद्द गरेपछि सप्तकोशी सिमेन्टको राजस्व छली छताछुल्ल बन्न पुगेको हो ।
बोरा उत्पादन गर्दै आएको कम्पनीले दिएको जानकारीअनुसार प्रतिबोरा सप्तकोशी सिमेन्टले आन्तरिक राजस्व कार्यालयमा अन्तशुल्क बुझाउनुपर्ने सरकारी ऐनको समेत धज्जी उडाउँदै व्यापक राजस्व छली गरेको छ । यस्तै सिमेन्टमा कम्पनीले प्याकअनुसार प्रतिकेजी चार रूपैयाँ ४० पैसा जति सरकारलाई अन्तशुल्कबापतको राजस्व बुझाउनुपर्ने व्यवस्था रहेको छ । यो सरकारी व्यवस्थालाई समेत सप्तकोशी सिमेन्टका सञ्चालक गोयलले चुनौती दिँदै सरकारको राजस्व समेत व्यापक छली गर्नेगरेको आन्तरिक राजस्व कार्यालयस्रोतले जानकारी दिएको छ ।
प्राविधिकका अनुसार सिमेन्ट गुणस्तरहीन हुनु भनेको संरचना बनाउँदा बलियो तथा कमसल बनाउने म्याग्नेसियम र आईआर रेसियो धेरै तथा थोरै हुनु हो । म्याग्नेसियमको कमीले बलियोपना घट्छ भने आईआर रेसियो बढी हुँदा बनेका संरचनाहरू चर्किने र भत्किने डर हुन्छ । यही मात्रा मिलेन भने नै सिमेन्टमा गुणस्तर कम देखिने गर्दछ ।
यसको आधारमा हेर्ने हो भने पनि यसअघि सप्तकोशी सिमेन्टबाट प्रदेश १ मा बनेका संरचनाहरू चाँडै भत्किने तथा चर्किने गरेको स्रोतको दाबी छ । यस्ता विषयमा समेत सरकारी संस्था गुणस्तर विभाग समेत सप्तकोशी सिमेन्टका सवालमा मौन देखिएको छ । प्रदेश १ को सप्तकोशी सिमेन्ट गुणस्तरहीन हुँदा समेत जिम्मेवार निकायका जिम्मेवार व्यक्तिहरू नै कारबाही प्रक्रियाबारे अहिलेसम्म मौन बसेपछि यसलाई अर्थपूर्ण रूपमा हेर्न थालिएको छ ।
सप्तकोशी सिमेन्टको राजस्व छलीदेखि गुणस्तरका सवालमा जिज्ञासा राख्न सप्तकोशी सिमेन्टका सञ्चालक आषिश गोयललाई पटक–पटक सम्पर्क गर्न खोज्दा समेत सम्पर्क हुन सकेन । कम्पनीको जिम्मेवार व्यक्ति समेत आफ्नो कुरा भन्न नखोज्नुले कारबाही गर्ने सरकारी निकायलाई नै कतै कारबाही नगर्न दबाब परेको हो कि भन्ने स्रोतको दाबी छ ।