बेइजिङ । चीनले अर्ब विद्युतीय र हाइब्रिड कारहरुका लागि दिँदै आएको सहुलियत (सब्सिडी) नदिने भएको छ । यही वर्षको अन्त्यसँगै चीनले यस्तो घोषणा गरेको हो ।
एएफपीका अनुसार यो क्षेत्रलाई अब राज्यको विशेष सहुलियत आवश्यक नभएकोले चीनले यस्तो निर्णय गरेको हो । चीनको अर्थ मन्त्रालयले पर्चेस सब्सिडी अब ३० प्रतिशतले घटाइएको छ । यो नयाँ वर्षसँगै सुरु भएको छ । यो वर्षको अन्त्यसम्ममा त्यसलाई शून्यमा झारिनेछ ।
यस्ता गाडी उत्पादन बढेको, सोही मात्रामा बिक्री आशानुरुप रहेको र उत्पादकहरु पनि सहज तरिकाले उत्पादन गर्न सक्षम हुँदै गएकाले आगामी डिसेम्बर ३१ पछि कुनै सहुलियत नहुने मन्त्रालयको भनाइ छ । चीनमा विद्युतीय र हाइब्रिड सवारीसाधनको बिक्री ह्वात्तै बढेको छ । वर्षगत तुलनामा यो शतप्रतिशत वृद्धि भएको छ । सन् २०२२ मा भएको कुल बिक्रीको १८ प्रतिशत हिस्सा यी कारले ओगटेको चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स (सीएएएम)ले गत हप्ता अनुमान लगाएको थियो । सन् २०१९ मा उक्त दर केवल पाँच प्रतिशतमात्रै रहेको थियो ।
यो वर्ष बिक्री हुने दुई करोड ७५ लाख सवारीसाधनमध्ये ५० लाख विद्युतीय र हाइब्रिड हुने पनि एसोसिएसनले जनाएको छ । सन् २०२१ मा विश्वकै ठूलो बजारमा ३.१ प्रतिशतले विद्युतीय सवारीसाधन बिक्री भएको अनुमान छ । यो सन् २०१८ यताको पहिलो वृद्धि हो ।