काठमाडौँ । राइड सेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षको अवसरमा यात्रु तथा सहारा पार्टनरको छ लाख रुपैयाँको बीमा योजना ल्याएको छ । यात्रु तथा पार्टनरका लागि पाँच लाखको दुर्घटना र एक लाख रुपैयाँको उपचार बीमा गर्ने सम्बन्धमा सहाराले अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच सहारा एपका तर्फबाट अध्यक्ष शेखर श्रेष्ठ र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले बीमासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता हस्ताक्षर भएकै दिनदेखि सहाराका पार्टनर तथा यात्रुहरूकोबीमा सुरु भएको अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए । सम्झौताअनुसार यो योजना सहारा एपबाट राइड रिक्वेस्ट पठाएर यात्रा गर्ने यात्रु र चालक दुवैको हकमा लागू हुनेछ । यात्रु र सहारा पार्टनर दुवैको राइड सुनिश्चित र सुरक्षित बनाउने उद्देश्यका साथ सहाराले अजोड इन्स्योरेन्ससँग दुई वर्षका लागि बीमा सम्झौता गरेको कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । पार्टनर र यात्रु दुवैले बीमा सुविधाबाट सुरक्षित हुने भएको भन्दै कम्पनीका अध्यक्ष श्रेष्ठले ढुक्क भएर सहाराको सेवा लिन आग्रह गरेका छन् । सहारा एपमार्फत दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनको माध्यमबाट तत्काल चाहेको गन्तव्यमा पुग्न सकिने श्रेष्ठले जानकारी दिए । यसैगरी सहाराले अंग्रेजी नयाँ वर्षदेखि आफ्ना पार्टनरहरूबाट कुनै किसिमको कमिशन नलिने उद्घोष गरेको छ । बजारमा राइडर तथा पार्टनरहरूले कम्पनीलाई २० प्रतिशतसम्म कमिशन बुझाउनुपरिरहेको अवस्थालाई ध्यानमा राखेर यात्रुलाई गन्तव्यमा पु¥याउँदा संकलन हुने सबै रकम पार्टनरलाई दिने उद्देश्यले यस्तो व्यवस्था गरिएको श्रेष्ठले बताए । उनका अनुसार यो व्यवस्था ६ महिनासम्मका लागि लागू हुनेछ । यात्रुहरूले गुुगल प्ले तथा एप्पलको एपस्टोरबाट सहारा एप डाउनलोड गरेर सेवा लिन सक्नेछन् भने चालकहरूले गुगल प्लेबाट सहारा पार्टनर नामक एप डाउनलोड गरेर सहारामा दर्ता भई सेवा दिन सक्नेछन् । एप बिजनेस ग्रोथ कम्पनी प्रालिले सञ्चालनमा ल्याएको सहारा एप राइड सेयरिङको दुनियाँमा आफूलाई स्थापित गराउन सफल भइसकेको छ । एपको प्रयोगकर्ता बढिरहेकाले दैनिक सयौँका संख्यामा राइडरहरू थपिरहेको कम्पनीले जनाएको छ । एक लाखभन्दा बढी प्रयोगकर्ता रहेको सहारा एपकामा झण्डै २० हजार पार्टनरहरू आबद्ध छन् । सहाराले पार्टनर तथा यात्रुहरूलाई सजिलो र सस्तो मूल्यमा सेवा उपलब्ध गराउनुका साथै समय समयमा विभिन्न किसिमका अफरहरू समेत सञ्चालन गर्दै आइरहेको छ ।