काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवलपरासीको भटौलिया बजारमा पनि शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकका अनुसार देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु-याउने उद्देश्यका साथ नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका, भटौलिया बजारमा यही पुस १६, गतेबाट ९०औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरिएको हो । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी नवराज पहरीलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार उक्त शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरू उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ७४ वटा शाखा, एक सय २३ वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटल्ली प्रदान गरिरहेको छ ।
यसलाई मूर्तरूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एन्ड वीथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरेको छ ।
साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरूलाई सकेसम्म बैंकमा नआईकनै बैंकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी बैंकमा बचत खाता सञ्चालन गर्दै ग्राहकहरूलाई बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, सेयर कारोबारको सहजीकरणका लागि डिम्याट तथा आस्वा सेवा, कार्डलगायतका विद्युतीय भुक्तानीका माध्यमहरूमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाएको जानकारी दिएको छ ।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहज रूपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।