काठमाडौँ । नेपाल वायुसेवा निगम र नेपाल विद्युत् प्राधिकरणबीच सेवा आदानप्रदान गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको उपस्थितिमा सोमबार उक्त सम्झौता भएको हो ।
सम्झौतामा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापत्रमा विद्युत् प्राधिकरणका कर्मचारीहरू निगमको उडान हुने सेक्टरहरूमा विदेश यात्रा गर्दा तथा प्राधिकरणको कार्गो सामान ओसारपसार गर्दा यथासम्भव निगमकै विमान प्रयोग गर्ने व्यवस्था रहेको छ ।
त्यस्तै, विद्युत् प्राधिकरणका कर्मचारी तथा उनीहरूको परिवारका सदस्यहरूलाई निगमले अन्तर्राष्ट्रिय उडानमा १५ प्रतिशत छुट दिने तथा कार्गो रेटमा कार्गोको प्रकृति र भोलमको आधारमा पाँचदेखि १० प्रतिशतसम्म छुट दिने व्यवस्था रहेको छ ।