काठमाडौँ । कोरोना भाइरसको प्रकोपबाट बच्न नेपालबाहिर बसोबास गर्ने नेपालीमध्ये ८८ प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । गैरआवासीय नेपाली संघका अनुसार ५१ देशमा रहेका ८८ प्रतिशतभन्दा बढी नेपालीहरूले खोपको पूर्ण डोज लगाएका हुन् ।
संघको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार अष्ट्रेलिया, न्युजिल्याण्ड, हङकङ, माल्दिभ्स, अमेरिका, क्यानाडा, युके, मलेसिया, बहराइन, अफिक्रा, दक्षिण कोरियालगायतमा रहेका नेपालीहरूले खोप लिएका छन् । भारत, बंगलादेशजस्ता देशहरूमा भने ७० प्रतिशतभन्दा कम नेपालीले मात्रै पूर्ण मात्रामा खोप लगाएका छन् ।
न्यूनतम खोप उपलब्ध भएका देशहरू घाना, नाइजेरिया, दक्षिण अफ्रिका, तान्जानिया, युगान्डामा सामान्य जनसंख्याको ३०प्रतिशतभन्दा कम जनसंख्याले खोपको सुविधा प्राप्त गरे पनि त्यहाँस्थित ९० प्रतिशत नेपालीले भने खोप पाएका छन् । समितिका अनुसार नेपालबाहिर रहेका नेपालीहरूको खोप लिने दर उच्च रहेको छ ।
यस्तै कोरोनाविरुद्धको तेस्रो खोप (बुस्टर डोज) सबै देशमा उपलब्ध नभए पनि उपलब्ध भएका देशमा भने नेपालीहरूले तेस्रो खोप समेत लिएका छन् । अहिलेसम्म बेल्जियममा ९० प्रतिशत नेपालीले बुस्टर डोज लिइसकेका छन् ।
बेलायतमा रहेका ६० प्रतिशतभन्दा बढी नेपालीहरूले बुस्टर लिएको संयोजक डा. सापकोटाले बताए । समितिका अनुसार विदेशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरूले समेत तेस्रो खोप प्राप्त गरिसकेका छन् ।
हाल विश्वको कुल जनसंख्याको ५१ प्रतिशतले पूर्ण रूपमा खोप लगाएको तथ्यांक छ ।