दोलखा । जिल्लाको तामाकोशी गाउँपालिकाले किसानको उत्पादनलाई आयस्रोतको माध्यम बनाउन फलफूल तथा दुग्ध चिस्यान केन्द्र सबै वडामा निर्माण गरेको छ ।
गाउँपालिकाले किसानले उत्पादन गरेको दुग्ध पदार्थ तथा तरकारी फलफूललाई भण्डारण तथा सुरक्षित राख्नलाई गाउँपालिकाभित्रका सात वडाका विभिन्न ठाउँमा चिस्यान केन्द्र निर्माण गरिएको हो ।
गाउँपालिकाले गतवर्ष सातवटै वडामा बजेट विनियोजन गरेर सुविधासम्पन्न भवन निर्माण गरी चिस्यान केन्द्र राखेको तामाकोशी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेल जानकारी दिए । चिस्यान केन्द्र निर्माण भएपछि गाउँघरमा किसानले उत्पादन गरेको दुग्धपदार्थ तथा फलफूल तरकारीलाई जम्मा गरेर बिक्री गर्न सहज भएको उनको भनाइ छ । यस्तै गाउँपालिकाले सबै वडाको वडा कार्यालय भवन पनि निर्माणसम्पन्न गरेको छ ।
पालिकाका सबै वडाले हाल आफ्नै भवनबाट सेवा दिइरहेका छन् । गाउँपालिकाले केही वडा भवनको मर्मत गरेको छ भने अन्य सबै वडामा नयाँ भवन निर्माण गरेको छ । यस्तै भूकम्पले ध्वस्त बनेका स्वस्थ्य कार्यालय भवन पनि निर्माणसम्पन्न गरिएका छन् । गाउँपालिकाले ग्रामीण सडकको स्तरोन्नति गरेर हिउँद बर्खा चल्नसक्ने बनाएको पनि अध्यक्ष पोखरेलले बताए ।
यस्तै गाउँपालिकाले खेल क्षेत्रको विकासको लागि सातवटा वडाको १८ ठाउँमा खेलमैदान निर्माण गरेको छ । यसैगरी विद्यालय तथा स्वास्थ्य चौकीमा विद्युत् तथा टेलिफोन इन्टरनेट विस्तार गरेको छ । खानेपानीको पहुँच सबै गाउँमा पु-याउन गाउँपालिकाले ठूलो लगानी गरेर खिम्ती र तामाकोशी नदीको पानी तानेर वितरण गर्ने काम जारी राखेको छ ।
स्थानीय सरकार आएको पहिलो पाँच वर्ष सकिन लाग्दा तामाकोशी गाउँपालिकाले दर्जनौँ विकास निर्माणका काम पूरा गरेको गाउँपालिका अध्यक्ष पोखरेलले दाबी गरे । बजेट अभावमा ग्रामीण सडक कालोपत्रे गर्न नसके पनि सानो लगानीमा धेरै राम्रा काम आफ्नो कार्यकालमा पूरा गरेको अध्यक्ष पोखरेल बताए ।
पोखरेलले पालिकाभित्र रहेको सडकस्तरीय बनाएको दाबी गरे पनि भीरकोट–झुले–छौडे सडकखण्डको स्थिति भने बेहाल छ । पालिकाभित्र रहेका सडकमध्ये उक्त सडकखण्ड सबैभन्दा पुरानो हो । उक्त सडकको स्तरोन्नतिको लागि पालिका, प्रदेश सरकार तथा केन्द्र सरकार कसैले पनि चासो नखाएको स्थानीयको गुनासो छ ।
वर्षेनी सोलिङ तथा नाला निर्माणको लागि केही लाख रकम छुट्याउनेबाहेक उक्त सडकको स्तरोन्नतिको लागि कुनै पनि निकायले चासो देखाएका छैनन् । २०६३ सालदेखि सञ्चालनमा आएको उक्त सडकको प्रयोग भीरकोट, गैरिमुदी, झुले, हावा र च्यामाका नागरिकले गर्दै आएका छन् ।
उक्त सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुनेगरेको छ । छिमेकी गाउँपालिका बैतेश्वरले आफ्नै लगानीमा वर्षेनी चार किलोमिटर सडक कालोपत्र गर्दै आएको छ । उक्त कार्यको अनुसरण गर्न तामाकोशी गाउँपालिकालाई पनि स्थानीयले आग्रह गरेका छन् ।