काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्ताहरूलाई आयोजनामा देखिएका समस्याबारे समयमै जानकारी गराउन आग्रह गरेका छन् ।
आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी बढ्ने र घाटा हुने भन्दै उनले आयोजनामा भएका समस्याहरू समयमै जानकारी गराउन आग्रह गरेका हुन् ।
‘एउटा आयोजनाको फाइल डेढ महिनादेखि रोकिएको भनेर भर्खर जानकारी गराउनुभयो’, उनले भने, ‘यस्तो जानकारी समयमै हामीलाई गराउनुहोला । यसले सरकारलाई सहजीकरण गर्न र समस्याको समाधान गर्न छिटो अनि सहज हुन्छ ।’
आइतबार बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा भएको लगानीकर्ताहरूसँगको अन्तत्र्रिmयामा उनले फाइल नै अड्किँदा आयोजनाको समयावधि लम्बिने र घाटा हुने भन्दै समय नै सबैभन्दा ठूलो पुँजी भएको बताए । साथै उनले नेपाललाई वैदेशिक लगानी आवश्यक रहेको बताए ।
मन्त्री शर्माले त्यसका लागि सरकारले पुराना लगानीकर्तालाई थप लगानी गर्न उत्प्ररेणा जगाउने तथा नयाँ लगानीकर्तालाई समेत लगानीका लागि वातावरण तयार गर्ने प्रतिबद्धता समेत जनाए । नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको र त्यस्ता लगानीले मुलुकको विकासमा महत्वपूर्ण योगदान हुने भन्दै उनले सरकारले उचित सेवा सुविधाको व्यवस्था गर्ने आश्वासन समेत दिए ।
लगानी बोर्डको उपाध्यक्ष समेत रहेका मन्त्री शर्माले लगानी र आयोजनामा रहेका समस्या, अहिलेको अवस्था र समाधानका उपायसहितको टिपोट बनाएर दिन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई निर्देशन पनि दिए ।