अंकारा । टर्कीको वार्षिक मुद्रास्फीति दर १९ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । राष्ट्रपति टायिप एर्डोगानले लिएका खराब नीतिले वित्तीय क्षेत्रमा खराब अवस्था देखिएको बीबीसीले जनाएको छ ।
डिसेम्बरमा मूल्यवृद्धिदर ३६ प्रतिशत पुग्दा यातायात, खाद्यवस्तु र अन्य कुरामा घरपरिवारको व्यापक खर्च भएको छ । धेरैजसो केन्द्रीय बैंकहरुले महंगी घटाउन ब्याजदर बढाउँछन् तर टर्कीले त्यसो पनि गरेको छैन ।
यसले टर्किस मुद्रा लिराको अवमूल्यन भएको छ । राष्ट्रपति एर्डोगानले मुद्रा स्थिरतातर्फभन्दा निर्यातलाई प्राथमिकतामा राखिरहेका छन् । लिरा गत वर्ष अमेरिकी डलरको तुलनामा ४४ प्रतिशतले अवमूल्यन भएको थियो । सोमबार थप पाँच प्रतिशतले गिरावट आएको थियो । पछि केही मात्रामा भने सुधार आएको थियो ।
लिराको अवमूल्यन हुँदा महंगी बढेको छ भने आयात महंगो भएको छ । ऊर्जादेखि अन्य धेरै क्षेत्रको कच्चा वस्तु महंगो भएका छन् । टर्कीका उत्पादकहरु भने निर्यातकेन्द्रित देखिएका छन् । एर्डोगानले ब्याजदरलाई ‘खराब कुराको आमा र बाबु’को संज्ञा दिएका छन् ।
उनले मूल्य घटाउन विदेशी विनिमय बजारमा हस्तक्षेप गर्नेजस्ता अस्वाभाविक हर्कतहरु गरिरहेका छन् । सोमबार पनि उनले अर्थतन्त्रमा रुपान्तरण गर्ने दाबी गरेका छन् । एक अर्थशास्त्रीका अनुसार महंगी दर यदि मौद्रिक नीति नउल्ट्याए आगामी चार महिनामा ५० प्रतिशतसम्म पुग्नसक्नेछ ।
इस्ट्यानबुलमा रहेकोा स्पिन कन्सल्टिङका संस्थापक साझेदार ओजलेम डेरिकी सेनगुलले ब्याजदर तत्काल बढाउनु ढिला भइसकेको बताइन् । तर त्यहाँको केन्द्रीय बैंकले त्यसो नगर्ने उनको भनाइ छ । गत वर्ष एर्डोगानले केन्द्रीय बैंकको नेतृत्व परिवर्तन गरेका थिए ।
त्यसपछि ब्याजदर १९ प्रतिशतबाट घटाएर १४ प्रतिशत झारिएको थियो । चर्को मूल्यवृद्धि र लिराको अवमूल्यनले मानिसहरुको पैसा व्यापक मात्रामा खर्च भइरहेको छ । गत महिना इस्ट्यानबुलमा पाउरोटी खरिदकै लागि लामो लाम बस्न बाध्य भएका तस्बिर सार्वजनिक भएको थियो । जीवनयापन खर्च एकै वर्षमा ५० प्रतिशतले वृद्धि भएको स्थानीय अधिकारीहरुले बताएका थिए । यस्तो खर्च अझै बढ्नसक्नेछ । विद्युत् र ग्यासमा क्रमशः ५० र २५ प्रतिशतको मूल्यवृद्धिले खर्च बढाउनेछ ।
यसका बाबजुद त्यहाँको केन्द्रीय बैंकले भने अस्थायी तत्वका कारण अहिले महंगी उच्च विन्दुमा पुगेको दाबी गरिरहेको छ । उसले गत अक्टोबरमा गरेको अनुमानअनुसार सन् २०२१ मा १८.४ प्रतिशत मात्रै हुने थियो । बैंकको मुद्रास्फीति दरको लक्ष्य पाँच प्रतिशत मात्रै थियो तर बितेको दुई वर्षयता उक्त दर अहिले दोहोरो अंकमा पुगेको छ ।
तीन हप्ताअघि एर्डोगानले लिराको अवमूल्यन हटाउन स्किम ल्याएका थिए । त्यसलाई केन्द्रीय बैंकले समर्थन गरेपछि लिरा ५० प्रतिशतले बढेको थियो तर गत हप्ता त्यसले पनि काम गरेन । त्यसपछि गत शुक्रबार एर्डोगानले मानिसहरुलाई आफ्ना सबै बचत लिरामा राख्न र सुन बैंकमा राख्न आग्रह गरे ।
चुनाव आउँदै गर्दा राष्ट्रपति एर्डोगानको लोकप्रियतामा समेत असर गरेको छ । टर्कीमा २०२३ को मध्यतिर चुनाव हुनेछ ।