काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । विराटनगरको होटल हैरिसन प्यालेसमा कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
साभारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए । सभाले चुक्ता पुँजीको १२ दशमलव ७० प्रतिशत बोनस सेयर तथा शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश गरी १३ दशमलव ३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी वृद्धि भई दुई अर्ब ५५ करोड दुई लाख ८२ हजार एक सय रुपैयाँ पुग्नेछ ।
सभाले कम्पनीको संस्थापक र सर्वसाधारण सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नुका साथै सञ्चालक समितिमा संस्थापक सेयरधनी समूह ‘क’ बाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालक र सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरूको निर्वाचन समेत सम्पन्न गरेको छ ।
संस्थापक सेयरधनी समूह ‘क’ बाट श्री केशव प्रसाद भट्टराई, हेमन्त नाहटा, विशाल अग्रवाल तथा विवेक झा निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट कृति टिवडेवाल तथा वीरेन्द्रबाबु श्रेष्ठ निर्वाचित भएका छन् ।
कम्पनीले चालू आव २०७८–०७९ को मंसिर मसान्तसम्म देशभरिका आफ्ना एक सय ३५ वटा शाखा सञ्जालमा रहेका ४९ हजार सात सय १७अभिकर्ताहरूमार्फत एक लाख २२ हजार नौ सय ७० बीमा लेखबाट दुई अर्ब एक करोड ८५ लाख ७१ हजार तीन सय १८ रुपैयाँ बीमा शुल्क आर्जन गर्नुका साथै कुल दाबी भुक्तानी २९ करोड १८ लाख ६७ हजार तीन सय १० रुपैयाँ गरेको छ ।