काठमाडौँ । राष्ट्रिय नागरिक पार्टीले विशेष महाधिवेशन गर्नेभएको छ । उक्त पार्टीका अध्यक्ष शुुक्रबहादुर गुुरुङका अनुसार शनिबार काठमाडौँको धुम्वाराही कार्की पार्टी प्यालेसमा विशेष महाधिवेशन गर्न लागिएको हो ।
महाधिवेशनको प्रमुख एजेण्डाहरूमा विधान संशोधन, कार्यसमिति चयन आदि रहेका छन् । राष्ट्रिय नागरिक पार्टी वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदाउँदै गरेको पार्टी भएको र यसले नेपाली राजनीतिमा नेपाली कांग्रेस, कम्युनिस्ट पार्टी र माओवादी पार्टीहरूले गरेका बेथितिहरूलाई रोक्ने उद्देश्य लिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
‘गरिब दुःखी जनता र राष्ट्रिय हितको प्रमुख उद्देश्यसहित हामी नेपाली राजनीतिमा वैकल्पिक शक्तिको रूपमा उदाएका हौँ’, उनले भने, ‘पार्टी विसं २०७० सालमा स्थापना भएको र मैले विसं २०७५ साल वैशाख २९ गतेबाट पार्टीमा अध्यक्षको भूमिका निर्वाह गर्दै आएका छु ।’ अबको पाँच वर्षभित्र सत्तामा पुग्ने गरी आफूहरूले रणनीति बनाएको उनले बताए । अहिलेसम्म ३० वटा जिल्लाहरूमा कमिटी विस्तार गरिसकेको र यो विशेष महाधिवेशनपछि बाँकी रहेका अन्य जिल्लाहरूमा पनि तीव्ररूपमा कमिटी विस्तार गर्ने उनले बताए ।
अध्यक्ष गुरुङका अनुसार पार्टीको मुख्य उद्देश्य गुणस्तरीय शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्ने, सानो–ठूलो सबै रोगको उपचार सकेसम्म निःशुल्क, नसके न्यूनतम शुल्कमा गर्नुपर्ने, युवाहरूलाई बढ्दो विदेश पलायनलाई रोक्नको लागि स्वदेशमा नै रोजगारीको ग्यारेन्टी गर्नुपर्ने र यसको लागि सरकारले प्रतिपरिवार १५ लाख रूपैयाँ विनाधितो कर्जा उपलब्ध गराउनुपर्ने रहेको छ ।
यही माग लिएर सरकारलाई घचघच्याउँदै जनताको बीचमा जाने अध्यक्ष गुरुङले बताए ।