आशिषबहादुर सिंह
बझाङ, माघ २२
सदरमुकाम चैनपुरमा रहेको जयपृथ्वी नगरपालिका दिनानुदिन फोहोर र दुर्गन्धित बनेपछि घरदैलोमा डस्टबिन वितरण गरिएको छ । नगरपालिकालाई स्वच्छ र सफा राख्नका लागि भन्दै नगरपालिकाले दैनिक बिहान घरदैलोमा पुगेर सफा गर्न अनुरोधसहित सरसफाइलाई ध्यान दिएको छ । २०७६ को मंसिर महिनामा मात्रै जयपृथ्वी नगरपालिकाले प्रत्येक टोल टोलमा पुगेर सरसफाई गर्ने उद्देश्यका साथ स्थानीय बासिन्दाको उपस्थितिमा प्रत्यक टोल तथा गल्लीहरूमा सरसफाइ समिति गठन गरेको थियो । सदरमुकाम चैनपुरमा ३१ वटा समिति, भोपुर बजारमा र सिमखेत बजारमा एक–एक समिती गरेर ३४ वटा सरसफाइ समिति गठन गरिएका छन् ।
समितिलाई सक्रिय पार्नका लागि मंसिरको अन्तिम सातमा जयपृथ्वी नगरपालिकाले दुई लाख ८० हजार मूल्यबराबरका एक सय ७० वटा प्लाष्टिकका डस्टबिन बजारभरि वितरण गरेको जयपृथ्वी नगरपालिकाका उपमेयर जुना जाग्रीले बताइन् । प्रत्येक समूहलाई पाँच डस्टबिनका हिसाबले ३४ वटा समूहलाई वितरण गरेको हो । अहिले बजारमा राखिएका अधिकांश ठाँउका डस्टबिनहरूलाई स्थानीय सबैलै प्रयोग गरी फोहोरलाई व्यवस्थापन गर्न नगरपालिकाले आग्रह गरेको छ ।
कतिपय ठाउँहरूमा नगरपालिकाको फोहोर उठाउने टिप्पर गल्लीमा नपुग्ने भएका कारण डस्टबिनहरू फोहोरले भरिएका छन् भन्ने गुनासो आएपछि यसलाई छिटोभन्दा छिटो समाधान गर्न नगरपालिका लागिपरेको मेयर बिरेन्द्र खड्काले बताए । साथै राम्रो नहरसमेत नभएका कारण पानि जथाभावि पानी बग्ने र सबै प्लास्टिक भान्छा तथा कोठाबाट निस्केका फाहोर उक्त खोलामा नै फालिने गरेका कारण नगरपालिका दुर्गन्धित बनेको हुँदा यसलाई छिटो समधान गर्न स्थानीयको माग रहेको छ । जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगल शाहीले नगरपालिका सबै नगरवासीको भएका कारण यसमा सबैले साथ र सहयोग गर्नुपर्ने बताए ।