नयाँ दिल्ली । भारतीय प्रहरीले एक एपमा सयभन्दा बढी महिलाको तस्बिर राखेर बिक्रीमा रहेको भन्ने २१ वर्षीय युवकलाई पक्राउ गरेको छ । ती युवाले ती महिलाहरु बिक्रीमा रहेको भन्दै फोटो सेयर गरेका थिए ।
ती युवा ब्यांग्लोरका इन्जिनियर विद्यार्थी रहेको रहेको खुलेको छ । यद्यपि प्रहरीले ती युवाको विस्तृत जानकारी सार्वजनिक भने गरेको छैन । उनीविरुद्ध कस्तो कानुनी कारबाही हुने भन्ने खुलेको छैन । उनी ‘बुली बाई’ नामक एपलाई धेरै पछ्याउने युवा रहेको बताइएको छ ।
उक्त एप गितहब नामक वेब प्लेटफर्ममा होस्ट थियो ।
यो घटनासँगै अहिले त्यहाँ उक्त एप नरहेको बताइएको छ । तस्बिर राखिएकाहरु भने मुस्लिम समुदायका पत्रकार र अधिकारकर्मी रहेको बताइएको छ । अनलाइनमा खरिदबिक्रीका लागि भन्दै यसरी मुस्लिम महिलाहरुमाथि गरिएको हिंसा दोस्रोपटक हो ।
गत वर्ष जुलाईमा ‘सुल्ली डिल्स’ नामक वेबसाइट तथा एपले ८० भन्दा धेरै मुस्लिम महिलाको प्रोफाइल बनाएर फोटोसमेत राखी ‘कारोबार दिन’ (डिल्स अफ द डे) भनी वर्णन गरिएको थियो । यी दुवै प्रकरणमा वास्तविक खरिदबिक्री भने नभएको तर मुस्लिम महिलालाई होच्याउन यसो गरिएको पाइएको छ ।
योसँगै भारतीय प्रहरीले तीनवटा राज्यमा ‘बुली बाई’ एपबारे अनुसन्धान सुरु गरेको छ । यसविरुद्ध उजुरी परेपछि अनुसन्धान थालिएको हो । सोमबार मुम्बई प्रहरीको साइबर युनिटले ती युवालाई पक्राउ गरेको थियो । उनी भागेर मुम्बई पुगेका थिए । यस घटनाको भारतमा चर्को विरोध भएको छ ।