सुबास बस्नेत
दोलखा, माघ २२
भीमेश्वर नगरपालिका चरीकोट बजारको सातदोबाटो चोकमा निर्माणाधीन अवस्थामा रहेको बहुउद्देश्यीय भवन निर्माणको काम तीव्ररूपमा भइरहेको छ । भवन निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी श्यामसुन्दर निर्माण सेवाले ६ महिनाको अवधिमा करिब ४८ प्रतिशत काम सम्पन्न गरिसकेको जनाएको छ ।
सार्वजनिक शौचालयसहित निर्माण हुन लागेको ५ तलाको व्यावसायिक भवन निर्माणको जिम्मा असारमा भीमेश्वर नगरपालिकाले श्यामसुन्दर निर्माण सेवालाई दिएको हो । भवन निर्माणको लागि नगर विकास कोषको ८० प्रतिशत अनुदान, १० प्रतिशत सरल ऋण रहेको छ । साथै नेपाल सरकारको ७ प्रतिशत अनुदान तथा भीमेश्वर नगरपालिकाको २ दशमलव ५ प्रतिशत अनुदानमा भवन निर्माण भइरहेको श्यामसुन्दर निर्माण सेवामा कार्यरत प्राविधिक सुवास दाहालले जानकारी दिए । भवन निर्माणका लागि तीनवटा निकायको १२ करोड ७६ लाख ३२ हजार सात सय रूपैयाँ लगानी रहेको छ ।
भवन निर्माण अवधि डेढ वर्ष रहेको छ । हालसम्म चार तलाको ढलान सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । बाँकी एक तलाको काम तीव्ररूपमा भइरहेको प्राविधिक दाहालले बताए । यस बहुउद्देश्यीय भवनमा दोलखा जिल्लाभित्रका र भीमेश्वर नगरपालिका आसपासका स्थानीय व्यवसायीहरूले कानुनीरूपमा नगरपालिकाको नियमअनुसार व्यवसाय गर्न पाउनेछन् । नगरपालिकाले अस्तव्यस्तरूपमा सडकपेटीमा कृषिलगायतका अन्य व्यापार गर्दै आएका व्यापारीहरूलाई व्यवस्थित बनाउने उद्देश्यले भवन निर्माण गर्न लागेको नगरप्रमुख भरत केसीले बताए । निर्माणाधीन अवस्था रहेको ५ तले भवनमा करिब सयभन्दा बढी व्यापारीले नियमित व्यवसाय गर्न पाउनेछन् ।