काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई प्रभावकारी रुपमा आधारभूत सेवा उपलब्ध गराउनु सरकारको कर्तव्य भएको बताउँदै यसमा लाग्न सबैलाई आग्रह गरेका छन् ।
सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकास प्राथमिकता चालू आर्थिक वर्षको पाँच महिनाको प्रगति र सुशासन प्रवद्र्धन सम्बन्धमा नेपाल सरकारका सबै मन्त्री र सचिवलाई निर्देशन दिँदै बुधबार उनले सो कुरा बताएका हुन् ।
जाडो बढेसँगै हिमपात र शीतलहरले जनजीवन प्रभावित भएको उल्लेख गर्दै उनले जनतालाई आवश्यक सेवा प्रदान गर्न निर्देशन दिए । साथै प्रधानमन्त्री देउवाले कृषिप्रधान मुलुकमा मलखाद र बीउको कुनै कमी हुन नदिनसमेत आग्रह गरे ।
विकास निर्माण र जनतालाई सेवा दिने काममा अवरोधका रुपमा देखिने कानुनी समस्या समाधानका लागि लाग्न निर्देशन दिँदै प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रण गर्न सबै सचेत रहेको र यसलाई नियन्त्रण गर्न सबैको सहयोगको अपेक्षा गरे । राष्ट्रिय गौरवका आयोजनामा अपेक्षित प्रगति हुन नसकेको बताउँदै उनले सम्बन्धीत निकायलाई ध्यान दिन निर्देशन दिए ।
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थ व्यवस्थाको पछिल्लो तथ्यांक र अवस्थाबारे अवगत गराउँदै नीतिगत सुधार, संस्थागत संरचनाको क्षमता अभिवृद्धि, ढिलासुस्तीको अन्त्य, विकासको बाधक बनेका कानुनी पक्ष हटाउन सबै मन्त्रालय र निकायबीच समन्वयको खाँचो रहेकामा जोड दिए ।