बेइजिङ । अमेरिकी सेयरबजार छोडेको चाइना मोबाइलको सेयर शांघाई सेयरबजारमा खरिदबिक्री सुरु भएको छ । चीनकै ठूलो आईपीओ खरिदबिक्रीमा कम्पनीले सात अर्ब ७० करोड अमेरिकी डलर बजारबाट उठाएको छ ।
कम्पनीको सेयर कारोबार सेसनमा ९.४ प्रतिशतले बढेर सुरु भएको थियो । चाइना मोबाइलका साना प्रतिस्पर्धी चाइना टेलिकम र चाइना युनिकम यसअघि नै देशभित्रैको सेयरबजारमा सूचीकृत भइसकेका छन् । यी तीनवटै कम्पनीले अमेरिकाको चर्चित न्युयोर्क स्टक एक्सचेन्ज छोडेका थिए । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चिनियाँ प्रविधि कम्पनीहरुमाथि कडाइ गर्ने निर्णयपछि यी कम्पनी स्वदेश फर्किएको बताइएको छ ।
चाइना मोबाइलको हङकङमा सूचीकृत सेयर मूल्य पनि उकालो लागेको बताइएको छ । कम्पनीले पछि फेरि दुई अर्ब कित्ता सेयर झण्डै १३ अर्ब डलरको सेयर फिर्ता किन्ने योजना बनाएको छ । ट्रम्पको पालाको नीति भए पनि जो बाइडेनको पालामा कार्यान्वयनमा आएको थियो । योसँगै धेरै अमेरिकी सेयरबजारमा सूचीकृत चिनियाँ कम्पनीहरु पनि चीन फर्किनसक्ने आकलन गरिएको छ ।
चाइना मोबाइलले संकलित पुँजी कम्पपनीकै फाइभजी नेटवर्क, क्लाउड स्रोतका लागि पूर्वाधार निर्माण र एआई सफ्टवेयरजस्ता परियोजना विकासमा लगानी गर्ने जनाएको छ । चाइना मोबाइल विश्वकै ठूलो मोबाइल नेटवर्क सञ्चालक हो । यसका ग्राहक सबैभन्दा धेरै छ । गत महिनामात्रै सवारीसाधन अनलाइन सेवाप्रदायक दिदीले अमेरिकी सेयरबजारबाट बाहिरिने योजना सार्वजनिक गरेको थियो ।
दिदीले न्युयोर्क छोडेर हङकङ स्टक एक्सचेन्जमा सूचीकृत हुने बताएको छ ।