काठमाडौं । लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १०औँ एक्स्टेन्सन काउन्टर काठमाडौँको नयाँ बानेश्वरस्थित नागरिक लगानी कोषमा स्थापना गरेको छ ।
यो नयाँ एक्स्टेन्सन काउन्टरको स्थापनाको साथै बैंकको सञ्जाल ५० जिल्लामा एक सय ३८ वटा शाखा, १० एक्स्टेन्सन काउन्टर, पाँचवटा हस्पिटल सेवा काउन्टर, एक सय ७१ वटा एटीएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ ।
यसको साथ बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा सक्रियरूपमा सेवा विस्तार गर्दै आएको छ ।
यो एक्स्टेन्सन काउन्टरको विस्तारसँगै बैंकले ग्राहकहरूलाई उनीहरूकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, एटीएम, इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ सेवा प्रदान गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीतिअनुरूप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।