बाँके, माघ २२
एक सय ३३ अर्ब निक्षेप रहेको सिद्धार्थ बैंकले नेपालगञ्जमा दुईवटा शाखा विस्तार गरेको छ । बैंकले न्यूरोड र वीपीचोकमा मंगलबार शाखा विस्तार गरेको हो । यो शाखासहित सिद्धार्थको नेपालगञ्जमा तीनवटा शाखा भएको छ भने जिल्लाभरि पाँचवटा पुगेको छ । सिद्धार्थ बैंकका वरिष्ठ नायब महाप्रबन्धक शेरबहादुर बुढाथोकीका अनुसार, सिद्धार्थको देशभरमा एक सय ८० वटा शाखा छन् । बैैंकले एक सय ३३ अर्ब निक्षेप र एक सय २३ अर्ब लगानी गरेको छ । ५ नम्बर प्रदेशमा साढे तीन अर्ब निक्षेप संकलन गरेर सात अर्ब बढी लगानी गरेको छ । वरिष्ठ नायब महाप्रबन्धक बुढाथोकीले ५ नम्बर प्रदेशमा निक्षेप संकलनभन्दा लगानी बढी गरेको बताए ।
नेपालगञ्जमा खुलेको नयाँ शाखाको नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा, नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक मुक्तिप्रसाद सापकोटा, सिद्धार्थका वरिष्ठ नायब महाप्रबन्धक शेरबहादुर बुढाथोकी, ५ नम्बर प्रदेश प्रमुख उपेन्द्र गड्तौलाले उद्घाटन गरे । नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर थापाले सिद्धार्थ जनताको विश्वासिलो बैंक भएकाले पालिकाहरूसँग समन्वय गरेर दुर्गम गाउँहरूमा पुग्न सुझाव दिइन् । उनले बैंकहरूले सामाजिक उत्तरदायित्वमा जोड दिन आग्रह गरिन् ।