काठमाडौँ । पछिल्लो समय नेपालसहित विश्वका धेरैजसो मुलुकमा कोरोना संक्रमितको संख्या बढेको छ ।
भारतमा समेत कोरोना संक्रमित बढ्दै गएको कारणले गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमण स्थगित गरेका छन् । तर मुलुकमा रोजगारी युवाहरु भने यस्तो अवस्थामा पनि वैदेशिक रोजगारीमा जान तयार भएका छन् । यो संख्या बढ्दो रुपमा रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
हरेक वर्ष श्रमबजारमा आउने पाँच लाख जना युवाहरुलाई सरकारले रोजगारीको सुनिश्चित नगर्दा युवाहरु बाध्य भई विदेश जानुपर्ने अवस्था छ । सोही कारण कोरोना संक्रमण बढदै जाँदा पनि श्रम स्वीकृति लिने युवाहरुको संख्यामा कमी नआएको यस क्षेत्रका जानकारहरु बताउँछन् । चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा विदेश जानको लागि भन्दै दुई लाख ३१ हजार चार सय ८२ जना युवाहरुले श्रम स्वीकृति लिएका छन् । जसमध्ये दुई लाख १६ हजार सात सय ५३ जना पुरुष र १४ हजार सात सय २९ जना महिला रहेको विभागले जनाएको छ ।
कोरोना संक्रमणलाई ध्यान नदिँदै विदेश जाने युवाहरुको संख्या पछिल्लो महिना बढ्दै गएको विभागको अधिकारीहरुको भनाइ छ । कोरोना संक्रमितको संख्या विभिन्न मुलुकमा बढ्दै जाँदा विदेश जाने भन्दै श्रम स्वीकृति लिन आउने युवाहरुको संख्या भने बढेको छ । कोरोना संक्रमितको दर विभिन्न मुलुकमा बढ्दै जाँदा यसको असर वैदेशिक रोजगारीमा देखिनुपर्ने हो तर उल्टो भइरहेको विभागका अधिकारीहरुको भनाइ छ । खोप लगाएको र बाध्यताको कारण युवाहरु विदेश जाने तयारीमा लागेको उनीहरुको भनाइ छ ।
पाँच महिनाको अवधिमा सबैभन्दा बढी क्रमशः मंसिर र कात्तिक महिनामा श्रम स्वीकृति लिएका छन् । मंसिर महिनामा ७४ हजार तीन सय ५४ जना (६९४४३ पुरुष/४९११ महिला) र कात्तिक महिनामा ५४ हजार नौ सय १८ जना (५०६२३ पुरुष/४२९५ महिला) ले विदेश जान श्रम स्वीकृति लिएका छन् । त्यसपछि क्रमशः असोजमा ३९ हजार छ सय ७१ जना (३७,२०८ पुरुष/२,४६३ महिला), भदौमा ३७ हजार एक सय ११ जना (३५,१८९ पुरुष /१,९२२ महिला) र साउनमा २५ हजार चार सय २८ जना (२४,२९० पुरुष/१,१३८ महिला) ले विदेश जान श्रम स्वीकृति लिएका छन् ।
श्रम स्वीकृति लिने अधिकांश युवाहरु खाडी र मलेसियाका कम्पनीमा काम गर्नका लागि हो । श्रम स्वीकृति लिनेमध्ये ९० प्रतिशत बढी युवाहरु खाडी र मलेसिया जान तयार युवाहरु रहेको अधिकारीहरुको भनाइ छ । उनीहरु मेनपावरमार्फत संस्थागत श्रम स्वीकृति लिएर विदेश उडन तयार भएका हुन् । व्यक्तिगत प्रयासमा ती मुलुकहरुमा जाने युवाहरुको संख्या बढे पनि ठूलो संख्यामा भने मेनपावरमा भर पर्ने गरेको विभागको भनाइ छ । यसैबीच कोरोनापछिको हालको अवस्थामा कामदारहरुको माग आउने क्रमले भने तीव्रता पाउनसकेको छैन ।
श्रम स्वीकृति लिने युवाहरुमा पूर्ण दक्ष, व्यावसायिक, सीपयुक्त, अर्धदक्ष र अदक्ष रहने गरेका छन् । जसमध्ये पूर्ण दक्ष, व्यावसायिक, सीपयुक्तको संख्या करिब १० प्रतिशतमा सीमित रहेको छ भने बाँकी अर्धदक्ष र अदक्ष छन् । सरकारले विदेश पठाउँदा अदक्ष कामदारलाई व्यवस्थापन गर्न नसक्दा वैदेशिक रोजगारीको क्रममा विविध समस्या खेप्नुपरेको छ । अदक्ष कामदार पठाउँदा कम्पनीले फिर्ता पठाउने, न्यूनतम सेवा सुविधा नदिने, श्रम शोषण गर्नेलगायतका समस्या भोग्नुपर्ने हुन्छ ।
विभागका अनुसार मंसिरमा मात्र सबैभन्दा बढी ३५ हजार सात सय ३३ जना अदक्ष, ३१ हजार नौ सय १६ जना दक्ष, छ हजार छ सय २० जना अर्धदक्ष, ७० जना व्यावसायिक र १५ जना उच्च सीपयुक्त युवाहरुले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीमा विभिन्न समस्याहरु यथावत् रहँदा पछिल्लो समय भने कोरोना महामारी ठूलो समस्याको रुपमा देखा परेको छ । कोरोना संक्रमणलाई ध्यान नराखी श्रम स्वीकृति प्रदान गर्ने सरकारी निकाय र श्रम स्वीकृति लिने युवाहरुको व्यवहार तत्कालका लागि भने उचित नदेखिएन जानकारहरु बताउँछन् ।
कोरोना संक्रमणलाई ध्यानमा राख्दै प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमण स्थगित गर्दा सोही समयमा विदेश जाने युवाहरुका लागि भने सरकारले ध्यान नदिएको देखिन्छ । यसरी नेतृत्ववर्गले आफूलाई सुरक्षित राख्ने र नागरिकहरुलाई बेवास्ता गर्ने वर्तमान सरकारको कार्यशैली उचित छैन । त्यसैले गर्दा विदेश जाने तयारीमा रहेका युवाहरुलाई सुरक्षित रुपमा गन्तव्य मुलुकसम्म पु-याउनु सरकारको दायित्व हो ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मुलुकभर थप पाँच सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । १२ हजार ९९ जनामा परीक्षण गर्दा पाँच सय ४० जनामा कोरोना संक्रमण देखिएको हो । सात हजार जनाको पीसीआर परीक्षणमा चार सय ७८ जनामा कोभिड १९ पोजिटिभ देखिएको हो ।
मानवतस्करी धन्दा : दुवईमा कम्पनी, नेपालमा श्रीमती एजेन्ट !
भिजिट भिसाको नाममा नेपालबाट दुवई मानव तस्करी गर्दै आएको गिरोहले आफ्नी श्रीमतीलाई समेत ठगीमा संलग्न गराएको पाइएको छ ।
दुवईमै दर्ता गरेर नेपालमा ठगी धन्दा गर्दै आएको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सिजका मालिक कोमलराज उपाध्याय (प्याकुरेल)ले आफ्नी श्रीमती रञ्जना ढकाल प्याकुरेलको नाममा अवैध रकम जम्मा गर्दै आएको पाइएको हो ।
त्रिनेत्रबाट दुवई पुगेका र दुवईमा पुगेर बिचल्ली भएका नेपालीहरुले कोमलको श्रीमती ढकालको नाममा लाखौँ रकम जम्मा गर्ने गरेको पाइएको हो । नेपालमा कतै दर्ता समेत नभएको उक्त कम्पनीले कोमलकी श्रीमती रञ्जनाको नाममा लाखौँ रकम असुली गरिरहे पनि सरोकारवाला निकाय मौन छन् ।
काठमाडौंमा खगेन्द्र लामिछाने नाम गरेका व्यक्तिले आफूहरुलाई सम्पर्कमा ल्याएको र उनैमार्फत कोमलकी श्रीमती प्याकुरेललाई प्रतिव्यक्ति तीन लाख ५० हजार रुपैयाँ बुझाएको पीडितहरुले आर्थिक दैनिकलाई बताएका छन् । पीडितहरुका अनुसार काम पाएपछि प्रतिव्यक्ति आठ लाख रुपैयाँ असुल्ने गरी कामदारसँग कोमलले सम्झौता गरेका छन् ।
पीडितहरुले उपलब्ध गराएको कागजातअनुसार कोमलले आफ्नी श्रीमती ‘रञ्जना डि प्याकुरेल’को नाममा प्रभु बैंकको एकाउन्ट नम्बर १२६०१७७८८८८८८८१५ मा रकम जम्मा गर्न लगाएका थिए । त्यस्तै रञ्जनाकै नाममा रहेको सनराइज बैंकको एकाउन्ट नम्बरमा एजेन्ट पेमेन्टको नाममा रकम असुल्दै आएकी छिन् ।
‘हामीले रञ्जनाकै नाममा प्रतिव्यक्ति तीन लाख ८० हजार रुपैयाँ जम्मा ग¥यौँ । ५० हजार रुपैयाँ त विमानस्थल सेटिङकै लागि भनेर मागिएको थियो । त्यो पनि हामीले दियौँ,’ ती पीडितले आर्थिक दैनिकसँग भने, ‘अहिले दुवईमा आएर न हामीले काम पायौँ, न रकम फिर्ता पायौँ । खान समेत नदिएर बन्धक बनाएर राखेका छन् । कोमलले हामीलाई गुण्डा लगाएर पिट्ने काम समेत गरेका छन् ।’ कोमलको समूहले उनीहरुको पासपोर्ट समेत बन्धक बनाएर राखेको पीडितहरुले बताएका छन् ।
‘हामीलाई पासपोर्ट दिइएको छैन । यदि पासपोर्ट लिन गयो भने दुई लाख रुपैयाँ कटाउने कुरा छ । त्यतिपैसा हामीसँग छैन । हामीलाई यहाँ बिचल्ली पारिएको छ’, ती नेपालीले भने, ‘जो पासपोर्ट लिन जान्छ, उसलाई सन्तोष सुवेदी, कोमलराज उपाध्याय, राजन साह ठकुरीलगायत समूहले कुट्ने गरेका छन् । कतिलाई कुटेर नेपाल फर्काइएको छ । प्रहरीलाई कुरा गर्दा केही गरेको छैन । यहाँ दुवईमा सबै कोमलको सेटिङ रहेछ ।’
दुवईमा मानवतस्करी गर्दै आएका कोमल आपराधिक गतिविधिमा समेत संलग्न रहेको स्रोतले जनाएको छ । त्यहाँ पुगेका नेपालीहरुलाई कुटपिट गर्ने र गुण्डाहरु परिचालन गरेर दुःख दिने गतिविधिमा उनी संलग्न रहेको एक पीडितले आर्थिक दैनिकलाई बताए ।
मानवतस्करीको विषय सार्वजनिक भएपछि उनी यतिबेला नेपालमा आएर सञ्चारमाध्यमलाई खबर गर्ने पीडित र समाचारको स्रोत खोज्न हिँडेका छन् । समाचार दिने व्यक्तिलाई ठीक पार्छु भन्दै उनी अझै पनि पीडितहरुलाई धम्क्याइरहेको स्रोतले बताएको छ ।
नेपालीहरुले कोमलराज उपाध्यायको नाममा रहेको सानीमा बैंकको एकाउन्ट नम्बर ०७६१.......९१७ मा पटक–पटक रकम पठाएका छन् । उनले प्रेस काउन्सिल नेपालका अधिकारीलाई समेत झूटो बयान दिएर फसाउने षड्यन्त्र गरेका छन् ।