काठमाडौँ । नेपाल एकीकरणको समयमा गोर्खाली सेनाद्वारा विजय अभियानको लागि प्रयोग गरेका पदमार्गहरू गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौँस्थित हनुमान ढोकासम्म सञ्चालन हुने ‘एकीकरण पदयात्रा’ गोरखा दरबारबाट शुभारम्भ भएको छ ।
‘३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७८’ को अवसरमा एकीकरण पदयात्रा शुरु गरिएको हो । पदयात्रा बुधबारबाट सुरु भएको र पुस २७ गतेसम्म चल्ने नेपाली सेनाले जनाएको छ । नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाको तत्कालीन पुराना पाँचवटा युनिटको झण्डा र टर्चसहित गोरखा जिल्लामा तैनाथ नेपाली सेनाको श्री रिपुमर्दनी गणबाट ऐतिहासिक सैनिक पोशाक तथा परम्परागत बाजागाजासहित खटिएको टोलीले बुधबार उक्त पदयात्रा कार्यक्रमको आरम्भ गरेका थिए ।
गोरखाबाट सुरु भएको पदयात्रा टोलीले धादिङ जिल्लामा तैनाथ फौजलाई, धादिङ जिल्लामा तैनाथ फौजले नुवाकोट जिल्लामा तैनाथ फौजलाई, नुवाकोट जिल्लामा तैनाथ फौजले नागार्जुनमा तैनाथ फौजलाई र नागार्जुनमा तैनाथ फौजले पुस २६ गते हनुमानढोकामा तैनाथ नेपाली सेनाको फौजलाई उक्त सामग्रीहरू हस्तान्तरण गर्ने सेनाले जनाएको छ । साथै उक्त पदयात्रा पुस २७ गते ‘३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’का दिन जंगी अड्डामा आयोजना हुने विशेष समारोहका बीच समापन गर्ने कार्यक्रम रहेको छ ।
श्री मध्य कमाण्ड हेड क्वाटरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सञ्चालन भएको शुभारम्भ कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, श्री नं. ३ बाहिनी अड्डाका बाहिनीपति, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयका कार्यालय प्रमुखहरू, वडाअध्यक्ष तथा जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय बासिन्दा, पत्रकार, राष्ट्रिय सेवादलमा आबद्ध छात्र/छात्राहरू तथा नेपाली सेनाका सकलदर्जाहरूको उपस्थिति रहेको थियो ।