काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले काठमाडौँ सहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताएका छन् । उनले धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभई दुर्गम क्षेत्रमा नयाँ सहर निर्माण गर्नुपर्नेमा जोड दिए । बिहीबार लगानी बोर्डको बैठकमा उनले विकास काठमाडौँ केन्द्रित मात्रै भएकाले दुर्गम क्षेत्रमा अर्को सहरको आवश्यकता रहेको उल्लेख गरे । वर्तमान अवस्थामा कम्तीमा तीनवटा ठूला सहरको निर्माण गर्नुपर्ने उनको भनाइ छ । ‘काठमाडौँ सहरको नयाँ भर्सन चाहियो । दूरदराजका ठाउँमा नयाँ काम ग-यो भने त्यहाँ सहर बन्दोरहेछ’, उनले भने, ‘नेपालका यस्ता तीनवटा ठाउँ खोजेर अगाडि बढायौँ भने विकासको अर्को नयाँ ढोका यहाँबाट खुल्नेछ ।’ विकासमा सन्तुलन पनि आवश्यक रहेकाले ठूला आयोजना तथा उद्योगहरू लगानी बोर्डले क्षेत्रगत विशिष्टीकरण गरेर गर्नुपर्नेमा जोड दिए । पर्यटन, शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर ठूला आयोजनाहरू निर्माण गर्नुपर्ने उनको भनाइ थियो । उनले पर्यटन क्षेत्रमा ‘सगरमाथा योजना’, ‘रारा योजना’ जस्ता योजनाहरू अघि सार्न पनि बोर्डसँग आग्रह गरे । त्यस्तै जलविद्युत् क्षेत्रमा तीनवटा ठूला जलविद्युत् आयोजनाहरू विशेष प्राथमिकतामा राख्न पनि निर्देशन दिए । ‘बूढीगण्डकी, अपर–अरुण र कर्णाली चिसापानीजस्ता ठूला आयोजनामा तपाईँहरूले ध्यान दिनुहोस्’, उनले भने । त्यस्तै उनले काठमाडौँ–पोखरा–लुम्बिनीका लागि तीव्र गतिको यायाता पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याए । यसका लागि अध्ययन गर्न समेत उनले निर्देशन दिए । ‘काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्र्याक वा लिक (रेलको) बनाए पनि भयो । तर द्रुत गतिमा पुग्ने हुनुप-यो’, उनले भने, ‘यो योजना तपाईँहरूको विशिष्टीकृत योजनामा हुनुप-यो ।’ बैठकमा नेपाल सकारका मुख्यसचिव शंकरदास वैरागी, अर्थसचिव मधुकुमार मरासिनी, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव अर्जुनप्रसाद पोखरेललगायतको सहभागिता रहेको थियो ।