काठमाडौँ । आर्थिक ऐन, २०७८ ले प्रदान गरेका छुट तथा सुविधासम्बन्धी विषयमा ठूला करदाता कार्यालय एवम् बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रम सञ्चालन भएको छ ।
ठूला करदाता कार्यालय, ललितपुर र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबीच बिहीबार भएको कार्यक्रममा आर्थिक ऐनले प्रदान गरेका छुट तथा सुविधाहरुको विषयमा तथा पुस मसान्तभित्र प्रथम किस्ता दाखिला गर्नुपर्ने ४० प्रतिशत आयकरबापतको रकम दाखिला गर्ने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरुले करदाता कार्यालयले प्रदान गर्ने सेवा, भौचर मिलान तथा संशोधन, प्रणाली सुधार, कर परीक्षणका विषय, छुट तथा सुविधा लिने सम्बन्धमा गरिएको तयारीबारे आ–आफ्नो धारणा राखेका थिए । ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक तथा कार्यालय प्रमुख शिवलाल तिवारीले आर्थिक ऐनले प्रदान गरेका छुट तथा सुविधाहरुमध्ये विचाराधीन मुद्दा फिर्ता र बक्यौता कर दाखिलाको सुविधा लिने म्याद २०७८ पुसभित्र भएकोले सुविधा तथा सहुलियत उपयोग गर्न तथा समयमै आयकरको किस्ता दाखिला गर्न सबैलाई आग्रह गरेका थिए ।
कार्यक्रममा सरकारी तथा निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत, वित्त प्रमुख र प्रतिनिधि एवम् ठूला करदाता कार्यालयका तर्फबाट प्रमुख कर प्रशासक, प्रमुख कर अधिकृतहरु तथा कर अधिकृतहरुको सहभागिता रहेको थियो ।