काठमाडौँ । सातौँ नेपाल उड (काष्ठ) अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि सुरु हुने भएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा आयोजना गर्नलागेको सातौँ नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी, नेपाल अन्तर्राष्ट्रिय फर्निचर र होम डेकर अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारबाट सुरु भई आइतबारसम्म चल्नेछ । उक्त प्रदर्शनी काठमाडौंको भृकृटीमण्डपमा हुने आयोजकले जानकारी दिएको छ ।
प्रदर्शनीमा संसारका विभिन्न देशका एक सयभन्दा बढी ख्यातिप्राप्त ब्राण्डहरुका स्टल रहनेछन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सबडिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुबारे जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि प्रदर्शनी कोशेढुंगा हुने बताइएको छ ।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा काठको काम र फर्निचर उत्पादन मेसिनरीहरू, पावर उपकरण, प्लाईवुड, ढोका र झ्यालहरू, फिटिङ्स, काठका सामानहरू, कच्चा पदार्थ, भित्री डिजाइन, गृह सजावट, घरको फर्निचर, अफिस फर्निचर, तथा निर्माणसम्पन्न उपकरणहरुको पनि उल्लेखनीय सहभागिता रहनेछ ।
यस सातौँ नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्यातिप्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् । यस प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्ने आयोजकको विश्वास छ ।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीका फर्निचर पार्टनर आरोन फर्निचर तथा सहयोगी संस्थाहरु सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स (सोना), सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्म्स (स्काफ), इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आईडिया नेपाल) तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) रहेको आयोजकले जनाएको छ ।
यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा समेत टेवा पु¥याउने आयोजकको विश्वास छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिकबाहेक नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर्स तथा इन्टेरियर डिजाइनरहरुको समेत सहभागिता रहनेछ ।
प्रदर्शनीले नेपालको काठ तथा फनिर्चर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने छ । साथै प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादनसम्बन्धी कार्यहरुमा पनि सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।
प्रदर्शनी अवधिमा विभिन्न सेवामार्फत देशको आर्थिक कारोबार बढ्ने हुँदा रोजगार तथा आय आर्जनमा सहयोगी भई दुई वर्षदेखि कोभिड १९ ले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन समेत सहयोग पुग्ने आयोजकको भनाइ छ ।