इस्लामावाद । पाकिस्तानमा अहिले लकडाउन गर्ने योजना नरहेको एक मन्त्रीले दावी गरेका छन् । पाकिस्तानका केन्द्रीय योजना तथा विकास मन्त्री असद उमरले कोरोनाभाइरसको महामारी फैलिदै गएपनि अहिले नै लकडाउनको योजना भने नबनाइएको स्पष्ट पारेका हुन् ।
कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरस फैलिएर पाकिस्तानमा अहिले पाचौँ चरणको महामारी सुरु भएको घोषणा गरिएको छ । पछिल्लो २४ घण्टामा देशभरी एक हजारभन्दा बढी नयाँ संक्रमित भएको विवरण सार्वजनिक भएकै बेला मन्त्रीको यस्तो भनाइ आएको हो । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा पाकिस्तानमा एक हजार ८४ जना नयाँ संक्रमित थपिएका छन् ।
‘हामीले कोरोनाभाइरसबाट दैनिक नयाँ थपिएका संक्रमितहरुको संख्या र अवस्थालाई नजिकबाट नियालीरहेका छौँ, तर अहिले नै लकडाउन लगाउने योजना भने बनाएका छैनौँ’, उमरले भने ।