काजकस्तान । काजकस्तानमा बिहीबार पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिएको छ । पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिएको भन्दै सुरु भएको आन्दोलन चर्किएपछि सरकारले पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण गरेको हो ।
अहिले निर्धारण गरिएको पेट्रोलियम पदार्थको मूल्य कम्तीमा छ महिना वृद्धि नहुने पनि अधिकारीले जानकारी दिएका छन् । यही वर्षको पहिलो दिनदेखि लागु हुने गरी मूल्यवृद्धि भएपछि त्यसको विरुद्धमा देशभरी कडा आन्दोलन भएको थियो ।
आन्दोलनका कारण राष्ट्रपतिले सरकार नै विघटन गरेर संकटकाल समेत घोषणा गर्नुभयो भने देशभरी अहिले पनि आन्दोलन चर्किरहेको छ । कुल एक करोड ९० लाखभन्दा बढी जनसंख्या भएको मध्यएसियाली मुलुक काजकस्तानमा छोटो अवधिमा ठूलो आन्दोलन भएको छ ।
आन्दोलनकारीहरुले पेट्रोलियम पदार्थको मूल्य बृद्धि अवैज्ञानिक र अस्वस्थ रहेको दावी पनि गरेका छन् । काजकस्तानमा प्रहरीले देशको सबैभन्दा ठूलो सहर अल्माटीमा प्रशासनिक भवनमा आक्रमण गर्न खोज्दा रातभरि दर्जनौं प्रदर्शनकारी मारिएको प्रहरीले बिहीबार जनाएको छ ।
आन्दोलनकारीले रातको समयमा सरकारी प्रशासनिक भवन, अल्माटी सहरको प्रहरी विभाग, स्थानीय प्रहरी चौकीलगायतमा आक्रमण गर्ने प्रयास गरेपछि दर्जनौं आक्रमणकारीलाई मारिएको प्रहरी प्रवक्ता साल्टनाट बताए । काजकस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले बुधबार मन्त्रीपरिषद् विघटन भएको घोषणा गरेका थिए ।
उनले देशको सबैभन्दा ठूलो सहर तथा आर्थिक राजधानी अल्माटी र पश्चिमी प्रान्त माङगीस्टाउमा संकटकाल लागू गरिएको घोषणा पनि गरेका छन् । संकटकाल लागू गरिएका दुवै सहर आन्दोलनकारीको बढी प्रभाव रहेको सहर मानिन्छ ।
हजारौँ आन्दोलनकारीले सडकमा उत्रिएर प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।