काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर १० बस्ने ४१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको हो ।
‘श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी वि.सं. २०७६ कात्तिक २० गते सिभिल बैंक लिमिटेड, शाखा कार्यालय, भक्तपुरको चेक काटी दिएको बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गर्दै उच्च अदालत पाटनबाट २०७८ असोज १० गते प्रतिवादी श्रेष्ठको हकमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम पाँच दिन कैद र २६ लाख रुपैयाँ जरिवाना फैसला भएको थियो’, प्रहरी उपरीक्षक महतोले भने ।
अदालतको उक्त फैसलालगत्तै फरार रहेका श्रेष्ठलाई ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले बानेश्वर, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि शुुक्रबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको प्रवक्ता उपरीक्षक महतोले जानकारी दिए ।