काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरूलाई ब्याजदर घटाउन आग्रह गरेकी छन् ।
शुक्रबार राजधानीमा आयोजित नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को ११औँ वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले पछिल्ला दिनहरूमा सहकारी संघ संस्थाहरू पैसा ब्याजमा लगानी गरेर खाने बैंकजस्तो भएको बताइन् । कर्जाको ब्याजदर घटाएर सदस्य लगानीकर्ताहरूलाई सुविधा दिनुपर्ने उनको भनाइ छ ।
‘पछिल्ला दिनहरूमा सहकारी उद्देश्यविहीनजस्तै भएका छन् । सहकारीको मर्म के हो ? उद्देश्य तथा लक्ष्य के हो ? सहकारीको बाटो एकातिर छ तर संस्थाहरूको गन्तव्य अर्कैतिर भइरहेको छ । यसलाई रोक्न आवश्यक छ’, उनले भनिन् ।
सहकारी संघ संस्थाहरू सदस्यहरूको वृद्धि विकासमा भन्दा पनि नाफा कमाउनेतर्फ उद्यत भएकोतर्फ इंकित गर्दै मन्त्री श्रेष्ठले ब्याजदरमा कसेर सदस्य ठग्ने सहकारीको काम नभएको बताइन् । हाल सहकारीको सन्दर्भ ब्याजदर १४ दशमलव ७५ प्रतिशत रहेको छ । बजारमा तरलता अभावको संकट पर्न थाले पनि सहकारी अभियन्ताहरू उक्त सन्दर्भ ब्याजदरलाई समयसापेक्षा अब कम्तीमा पनि दुई प्रतिशत वृद्धि गर्नुपर्ने माग गरिरहेका छन् ।
सहकारीहरू सहकारीको सिद्धान्तअनुसार नचल्दा वित्तीय सुशासन कायम हुन नसकी सहकारीप्रति बचतकर्ताको विश्वासमा कमी आएको उनको भनाइ छ ‘बैंकमा ब्याजदर बढ्दा सहकारीमा पनि बढ्ने र तर घट्दा नघटने प्रवृत्ति नेपालमा छ’, उनले भनिन्, ‘त्यसकारण सहकारीको ब्याजदर बढाउने होइन, देखिएका अप्ठ्राहरू अर्को कुनै तरिकाबाट पुकाउन पर्छ र सहकारी जसका लागि हो, उनीहरूका लागि ब्याजदर बढाउने नभई घटाउनु पर्छ ।’
सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने र सहकारी त्यहीअनुसार चल्ने भएकाले सोहीअनुसार मन्त्रालयले भिजन पेपर तयार पारिरहेको र केही दिनभित्रै उक्त भिजन पेपर सार्वजनिक गर्ने समेत मन्त्री श्रेष्ठले जानकारी दिइन् ।